काठमाडौं । बहुचर्चित सुन तस्करी प्रकरणकी प्रतिवादी अमला रोकालाई आज पनि जिल्ला अदालत, काठमाडौंमा पेस गरिँदैछ।
शुक्रबार टोखाबाट पक्राउ परेकी रोकालाई आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालतमा उपस्थित गराइएको थियो। जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासमा भएको थुनछेक बहस नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखेर उनलाई पुनः प्रहरी हिरासतमा पठाइएको थियो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) अन्तर्गत आर्थिक अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार आज कार्यालय समय सुरु हुनेबित्तिकै रोकालाई अदालतमा उपस्थित गराइनेछ। उनले आज पुर्पक्षका लागि थुनामा राख्ने वा धरौटीमा रिहा गर्नेमध्ये एक आदेश आउन सक्ने बताएका छन्।
धरौटीमा छुटाउने गिरोह सक्रिय
सुन तस्करी प्रकरणमा मुछिएपछि रोकालाई अनुसन्धानको प्रारम्भिक चरणमै भगाउने र घटना भएको २३ महिनासम्म देशभित्रै ‘फरार’ अवस्थामा राख्ने गिरोह अहिले अदालतबाट धरौटीमा छुटाएर उन्मुक्ति दिलाउन सक्रिय भएको पाइएको छ।
२०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचबाट शंकास्पद सुन बाहिरिएपछि यो घटना सार्वजनिक भएको थियो। राजस्व अनुसन्धान विभाग र सीआईबीले गरेको अलग-अलग अनुसन्धानबाट अमलाको यसमा सक्रिय संलग्नता पुष्टि भएको थियो। अमलाका पति दावा छिरिङ सुन बरामद भएको १२ औँ दिनमा पक्राउ परेका थिए।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार अवैध कल सेन्टर सञ्चालनसहित चिनियाँ नागरिक संलग्न अन्य आपराधिक गतिविधिमा पनि दावा र अमलाको संलग्नता रहँदै आएको छ।
प्रहरी अनुसन्धानबाट घटनाअघि रोका सञ्चालक रहेको ठमेलस्थित होटल भियनामा उच्च पदस्थ प्रहरी, प्रशासक, राजनीतिक व्यक्ति र पत्रकारको बाक्लो आवतजावत हुने गरेको खुलेको थियो। एक अनुसन्धान अधिकृतले प्रश्न गर्दै भनेका छन्, “ती व्यक्ति किन त्यहीँ नै जान्थे र जानेमध्येकी व्यक्ति उनलाई भगाउनदेखि अहिले मुक्त गराउनसम्म किन सक्रिय छन्?”
जिल्ला अदालत स्रोतका अनुसार आइतबार थुनछेक बहस लगभग सकिएको थियो। न्यायाधीशले चाहँदा कार्यालय समयपछि पनि केही समय लिएर आदेश गर्न सक्थे। तर, उनलाई धरौटीमा छुटाउन सक्रिय गिरोहको चलखेल बढेसँगै न्यायाधीशहरू उक्त मुद्दामा आदेश गर्न हच्किएको स्रोतले बताएको छ।
प्रकाशित मिति: ९ असार २०८२, सोमबार












प्रतिक्रिया