पोखरा । गण्डकी प्रदेश सरकारले ल्याएको वार्षिक विकास कार्यक्रमप्रति गम्भीर असन्तुष्टि जनाउँदै नेकपा (माओवादी केन्द्र) का सांसद तथा पूर्व भौतिक पूर्वाधारमन्त्री रेशम जुग्जालीले प्रदेशसभाको रोष्ट्रममै उभिएर बजेट पुस्तिका च्यातेका छन्।

भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक कार्यक्रममाथि छलफलका क्रममा बोल्दै सांसद जुग्जालीले आफ्नो जिल्ला म्याग्दीप्रति लगातार बजेटमा अन्याय भएको आरोप लगाए। उनले भने, “यदि म्याग्दीको भूगोल थाहा छैन भने अर्थमन्त्री र भौतिक मन्त्रीलाई मेरो खर्चमा गुर्जादेखि नारच्याङ हुँदै दारखोलासम्म घुमाउने छु। म्याग्दीका जनताको प्रतिनिधिको नाताले यस्तो अन्याय सहन सक्दिन।”

advertisement

उनका अनुसार म्याग्दी जिल्लाका लागि मात्र साढे ३ करोड रुपैयाँ विनियोजन गरिएको छ, जुन अत्यन्त अपमानजनक र विभेदकारी छ। “मेरो भागमा परेको दुई करोड रुपैयाँ पनि फिर्ता लैजानुस्,” उनले आक्रोशित हुँदै भने, “दुई वर्षदेखि म्याग्दीलाई निरन्तर बेवास्ता गरिँदै आएको छ। यस्तो बजेटले हामीलाई केही उपयोग गर्दैन, त्यसैले यो पुस्तक च्यात्न चाहन्छु।”

सांसद जुग्जालीले प्रस्तुत बजेटमा सत्ता पक्षभित्रै पनि असन्तुष्टि देखिएको उल्लेख गर्दै त्यसले समग्र प्रतिनिधित्व गर्न नसकेको बताए। “यो बजेट सत्ताकै उकुसमुकुसमा बनेको छ,” उनले भने, “यस्तो अपारदर्शी र विभेदकारी बजेटलाई म बहिष्कार गर्छु।”

गण्डकी प्रदेश सरकारको बजेटप्रति सत्तापक्षकै सांसदहरूबाट आलोचना आउनु स्वयं बजेट निर्माणमा व्यापक असन्तुलन रहेको संकेत हो भन्ने राजनीतिक विश्लेषण भइरहेको छ।

प्रकाशित मिति: ९ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com