काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई संसदमै काउन्टर दिएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा मन्त्री खड्काले ‘टेक एन्ड पे’ सम्बन्धी अर्थमन्त्री पौडेलको घोषणामा असहमति जनाएका हुन्।
बजेट भाषणको बुँदा नम्बर २२७ मा अर्थमन्त्री पौडेलले रन अफ रिभर आयोजनाको सट्टा ‘टेक एन्ड पे’ अवधारणाअनुसार विद्युत खरिद सम्झौता (पीपीए) गर्ने नीति लिएको घोषणा गरेका थिए। उक्त बुँदामा भनिएको थियो, ‘जलविद्युत आयोजना सम्पन्न हुने समय तालिकासँग संगति मिल्ने गरी सबस्टेसन र प्रशारण लाइन निर्माण गरिनेछ। विद्युत उत्पादन र खपतबीच सन्तुलन कायम हुने गरी विद्युत खरिद सम्झौता गर्ने नीति लिइनेछ। रन अफ रिभर आयोजनाको सट्टा ‘टेक एन्ड पे’ अवधारणाअनुसार विद्युत खरिद सम्झौता गरिनेछ।’
तर ऊर्जा मन्त्री खड्काले संसदमा प्रस्तुत जवाफमा ‘टेक एन्ड पे’ नभइ ‘टेक अर पे’ नीति नै हाल रहेको दाबी गरे। उनले भने, ‘नेपाल विद्युत प्राधिकरणको राय र सुझावको आधारमा १० मेगावाटसम्मका साना जलविद्युत आयोजना र विद्युत खपत तथा निर्यात सुनिश्चित भएका रन अफ रिभर आयोजनाका लागि ‘टेक अर पे’ नीति उपयुक्त देखिएको छ।’
उनका अनुसार जलविद्युत र प्रशारण क्षेत्रमा निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्न ‘टेक अर पे’ सम्झौता, ट्यारिफ बिडिङ प्रणाली, प्रशारण लाइन विकास, र विद्युत व्यापारमा निजी सहभागिताका लागि नीतिगत संरचना तय गरिएको छ। साथै, प्रशारण लाइनको विकास र निर्माण पब्लिक–प्राइभेट पार्टनरसीप मोडेलमार्फत निजी क्षेत्रको संलग्नता बढाइएको पनि उनले जानकारी दिए।
प्रकाशित मिति: ९ असार २०८२, सोमबार













प्रतिक्रिया