काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सूचना प्रविधि (आईटी) क्षेत्रलाई अब केवल बहसको विषय बनाउने होइन, ठोस कार्यान्वयनमा लैजाने समय आएको स्पष्ट पारेका छन्।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले आईटी क्षेत्रबारे धेरै बहस भइरहे पनि त्यसले मात्र पर्याप्त नहुने बताए। उनले भने, “आईटीसम्बन्धी बहस संसददेखि सञ्चारमाध्यमहरूसम्म चलिरहेको छ। लेख, अन्तर्वार्ता, कार्यक्रमहरूमार्फत निरन्तर विमर्श हुँदै आएको छ। बहस सकारात्मक छ, तर केवल बहसमै अल्झिरह्यौं भने प्रगति हुन सक्दैन। अब निर्णायक कदम चाल्ने बेला हो।”
उनका अनुसार सूचना प्रविधिको क्षेत्रमा पछिल्ला वर्षहरूमा उल्लेखनीय उपलब्धिहरू हासिल भएका छन्। रोजगारी सिर्जना, सेवा निर्यात तथा स्टार्टअप उद्यमको उल्लेखनीय वृद्धि भएको छ। संरचनागत बाध्यताबिना पनि युवाहरूले नविन प्रयोगमार्फत उद्यममा पाइला चालेका छन्, र केही स्टार्टअपहरू त अन्तर्राष्ट्रिय बजारसम्म पुगेका छन्।
तर, यति मात्रले सन्तुष्ट हुन नहुनेमा उनले जोड दिए। “ग्लोबल र्याङ्किङमा नेपालभन्दा तल ५०–६० मुलुक मात्रै छन्। यसले देखाउँछ, हामीसँग अझ धेरै गर्नुपर्ने चुनौतीहरू छन्।”
थापाले समग्र मूल्यांकन गर्दै भने, “आईटी क्षेत्रमा आजसम्म धेरै काम भएको छ, तर जति गर्न सकिन्थ्यो, त्यो भने हुन सकेको छैन। अब ढिलो गर्यौं भने हामी पछि परिन्छ।”
उनले निष्कर्ष दिँदै भने, “अब बहस होइन, एक्सनको समय हो। ढिलाइ अब क्षम्य हुँदैन। यही समय हो, जब काम गरेर देखाउनुपर्छ।”
प्रकाशित मिति: ९ असार २०८२, सोमबार













प्रतिक्रिया