काठमाडौं । वामपन्थी विचारधारामा विश्वास राख्ने नेपाली लेखक तथा विश्लेषकहरूले इरानमाथि अमेरिकाले गरेको पछिल्लो आक्रमणलाई अन्तर्राष्ट्रिय कानून, सार्वभौमसत्ता र आत्मनिर्णयको अधिकारमाथिको अतिक्रमण भन्दै कडा आपत्ति जनाएका छन्।

सोमबार संयुक्त रूपमा जारी गरिएको विज्ञप्तिमा उनीहरूले अमेरिकाले इरानका विभिन्न स्थानमा गरेको हवाई आक्रमण शान्तिपूर्ण आणविक कार्यक्रमलाई लक्षित गर्दै गरिएको र यसले इरानको सार्वभौमिक अधिकारमाथि सीधा हस्तक्षेप गरेको बताएका छन्।

advertisement

“आईएईएको प्रत्यक्ष निगरानीमा सञ्चालन हुँदै आएको शान्तिपूर्ण आणविक कार्यक्रममाथि गरिएको यो आक्रमणले स्पष्ट रूपमा इरानको आत्मनिर्णयको अधिकार र सार्वभौमसत्तामाथि धावा बोलेको छ,” विज्ञप्तिमा भनिएको छ, “यो १९औँ शताब्दीदेखि नै अमेरिकाले अख्तियार गरेको साम्राज्यवादी हस्तक्षेपको रणनीतिक निरन्तरताको अर्को रूप हो।”

विज्ञप्तिमा अमेरिकाले आफ्नो राजनीतिक, आर्थिक तथा सामरिक प्रभुत्व कायम राख्न विश्वभर असहमति जनाउने राष्ट्रहरूमाथि निरन्तर आक्रमण गर्दै आएको, नरसंहार मच्चाउँदै आएको र सत्ता परिवर्तनमार्फत स्रोतसाधनमा कब्जा जमाउने नीतिको अभ्यास गर्दै आएको स्पष्ट उल्लेख गरिएको छ।

इराक, सिरिया, लिविया, अफगानिस्तान, प्यालेस्टाइन र लेबनानजस्ता देशहरूमाथि विगतमा गरिएका बर्बर आक्रमणहरूले ती मुलुकहरूमा निम्त्याएको विनाश र गाजामा हाल भइरहेको नरसंहारलाई मानव सभ्यतामाथिको धब्बाको रूपमा चित्रण गरिएको छ।

“हाल इजरायल गाजामा गरिरहेको बालबालिका तथा महिलाविरोधी नरसंहारबाट अन्तर्राष्ट्रिय ध्यान अन्यत्र मोड्न उसले इरानमाथि आक्रमण गरेको छ, र अमेरिका त्यसको सहयात्री बनेर खस्किंदो विश्व प्रभुत्व जोगाउने प्रयासमा लागेको छ,” विज्ञप्तिमा भनिएको छ।

लेखक तथा विश्लेषकहरूले अमेरिका, इजरायल र नेटो गठबन्धनको यो हर्कत साना र कमजोर राष्ट्रहरूको आत्मनिर्णय अधिकार तथा सार्वभौमसत्ता उल्लंघन गर्ने अमानवीय कार्य भएको भन्दै तीव्र विरोध जनाएका छन्।

उनीहरूको भनाइमा, यस्तो युद्धमुखी गतिविधिले पश्चिम एशियालाई अझ जटिल द्वन्द्वमा धकेल्नेछ, जसले खाडी मुलुकहरूबाट हुने खनिज तेल तथा ग्यासको आपूर्ति प्रभावित पार्दै विश्वभर आर्थिक अनिश्चितता फैलाउने खतरा निम्त्याएको छ।

“साना होस् वा ठूला, सबै राष्ट्रलाई आफ्नो सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा आत्मनिर्णयको अधिकार रक्षा गर्ने अधिकार छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।

विज्ञप्ति जारी गर्ने व्यक्तिहरूमा प्राध्यापक कृष्ण पोखरेल, राम कार्की, रामराज रेग्मी, कोमल भट्टराई, नरेन्द्रजंग पिटर, अशेष घिमिरे, कृष्ण सुनवार, प्रकाश अजात, खगेन्द्र संग्रौला, हरि रोका, झलक सुवेदी, युग पाठक, सोमत घिमिरे, राजेन्द्र महर्जन, उषा तिम्सिना, शिव कुमार पौडेल, गोपिरमण उपाध्याय, कुमार पौडेल र अरविन्द सिंह रहेका छन्।

प्रकाशित मिति: ९ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com