काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफूले निरङ्कुश शासनको प्रतिकार गर्दै कठोर यातना र जेल जीवन भोगेर मात्रै वर्तमान अवस्थामा पुगेको स्पष्ट पारेका छन्।

सोमबार राजधानीमा आयोजित राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राजतन्त्रकालमा गणतन्त्रको पक्षमा बोल्नुलाई पनि ज्यान जोखिममा पार्ने काम सरह भएको स्मरण गरे।

advertisement

उनले भने, “त्यो बेलाको अवस्था सम्झनुस्, जब ‘गणतन्त्र’ शब्द उच्चारण गर्नु पनि अपराध मानिन्थ्यो। निर्दलीय निरङ्कुश शासन व्यवस्था थियो। हाम्रो पाँच जना साथीहरूलाई जेलबाट निकालेर जंगलको छेउमा लगेर गोली हानियो। कति साथीहरूलाई जहाँ भेटे, त्यहीँ हत्या गरियो। यस्तो जोखिमपूर्ण समय थियो, तर पनि हामीले परिवर्तनको झन्डा नछोड्यौं।”

ओलीले आफूलाई तत्कालीन निरङ्कुश सरकारले ५३ वर्ष जेल सजाय सुनाएको स्मरण गरे।
उनले थपे, “मलाई ५३ वर्ष कैद सजाय तोकिएको थियो। त्यो घटाउँदै–घटाउँदै हामीले संघर्षका माध्यमबाट १० वर्षमा ल्यायौं। अन्ततः मुद्दा सकियो। तर मुद्दा टुंगिएपछि पनि लाजसरम नमानी बिना कारण ४ वर्ष थुनियो। कुल १४ वर्ष जेलमा बस्नुपर्‍यो। तर पनि हाम्रो सङ्घर्ष रोकिने होइन।”

अध्यक्ष ओलीले वर्तमान आन्दोलनहरू अघिल्लो पुस्ताको तुलनामा कम जोखिमपूर्ण रहेको उल्लेख गर्दै युवाहरूलाई अझ जिम्मेवार र प्रतिबद्ध बन्न आह्वान गरे।
उनले भने, “अबको आन्दोलन पहिलाजस्तो ज्यानको जोखिम छैन, तर उत्तरदायित्व चाहिँ झन् गम्भीर छ। परिवर्तनलाई संस्थागत गर्ने जिम्मा तपाईं–हामी सबैको हो।”

उनको सम्बोधनमा पुरानो पृष्ठभूमि स्मरण गर्दै परिवर्तनको मूल्य, बलिदान र संघर्षको गाथा झल्किएको देखिन्थ्यो।

प्रकाशित मिति: ९ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com