काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेले आफ्नो पार्टी संसदमा नयाँ भए पनि वेबकुप नभएको स्पष्ट पारेका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री रमेश लेखकको अभिव्यक्तिपछि बोल्दै सांसद वाग्लेले सरकारले गठन गरेको भिजिट भिसा छानबिन समिति अस्वीकार गर्ने रास्वपाको अडान दोहोर्याए। उनले गृहमन्त्री लेखक स्वयं यो प्रकरणमा परोक्ष रूपमा संलग्न र प्रत्यक्ष रूपमा संरक्षणकर्ता देखिएको आरोपसमेत लगाए।

advertisement

“आरोपित आफैंले अनुसन्धान अधिकृत छान्ने हो भने त्यसले कस्तो निष्कर्ष निकाल्छ?” भन्दै वाग्लेले प्रश्न उठाए। उनका अनुसार समितिको नेतृत्व पूर्वमुख्य सचिव शंकरदास वैरागीलाई दिइनु स्वीकार्य छैन।

वाग्लेले भिजिट भिसा काण्डजस्तो गम्भीर विषयको छानबिन गम्भीर ढंगले र प्रणालीगत सुधारतर्फ उन्मुख भएर हुनुपर्ने धारणा राखे। “सहकारी प्रकरणमा बनेको समितिको मोडल वा जाँचबुझ आयोग ऐन, २०२६ अनुसार बहालवाला वा पूर्वन्यायाधीशको अध्यक्षतामा निष्पक्ष र विश्वसनीय समिति बनाइनुपर्छ,” उनले भने।

उनले सरकारप्रति संकेत गर्दै भने, “छानबिन समिति आफैंको गोजीबाट मान्छे टिपेर बनाउने प्रवृत्ति बन्द हुनुपर्छ।”

सांसद वाग्लेले गृहमन्त्रीका नजिकका व्यक्तिहरूको नाम उल्लेख गर्दै समितिको निष्पक्षतामाथि शंका व्यक्त गरे। “अर्किड कोलनीमा मर्निङ वाक गर्ने पाटनर तिर्थ भट्टराईले निष्पक्ष छानबिन कसरी गर्छन्?” भन्दै उनले तिक्त प्रश्न गरे।

उनले यो विषय केवल भिजिट भिसासम्म सीमित नरही लुट, संगठित भ्रष्टाचार र मानव तस्करीसँग गाँसिएको गम्भीर मुद्दा भएको उल्लेख गर्दै भने, “गृहमन्त्री स्वयं सन्देहको घेरामा हुनुहुन्छ।”

रास्वपाले संसदमा निरन्तर आवाज उठाउने र निष्पक्ष छानबिन समितिको मागबाट पछि नहट्ने स्पष्ट संकेत वाग्लेले दिएका छन्।

प्रकाशित मिति: १० असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com