काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियालाई तत्काल पदबाट निलम्बन गरी निष्पक्ष छानबिन गर्न माग गरिएको छ। यो माग नागरिक युवराज सफलले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी दिएर राखेका हुन्।
सफलले उजुरीमा मन्त्री चौरसियामाथि अफताब आलमलाई न्यायालयबाट सफाइ दिलाउनका लागि न्यायाधीशलाई प्रभावमा पारेको गम्भीर आरोप लगाएका छन्। उनका अनुसार चौरसियाले शक्ति, पद, पैसा र पार्टीको दुरुपयोग गर्दै आलमलाई सफाइ दिलाएका हुन्। आलममाथि बम विष्फोट, सामूहिक हत्या र नरसंहारको आरोपमा जिल्ला अदालत रौतहटले जन्मकैदको फैसला सुनाएको थियो।
उजुरीमा भनिएको छ, “नेपाल सरकारको जिम्मेवार पदमा बसेका कानुनमन्त्रीले यस्तो जघन्य अपराधमा संलग्न व्यक्तिलाई छुटाउन भूमिका खेलेका छन्। उनलाई तत्काल पदमुक्त गरी तीन महिनाको कल रेकर्ड, उनी बसेको होटलको सिसीटिभी फुटेज र अन्य विवरण संकलन गरी गहिरो छानबिन गर्नुपर्छ।”
सफलले चौरसियामाथि आलमको सफाइका लागि मुख्य योजनाकार र सहयोगीको रूपमा काम गरेको आरोप पनि लगाएका छन्। त्यसैले उनलाई अपराधी जस्तै मुद्दा चलाई आवश्यक कारबाही गर्नुपर्ने उनको माग छ। “उनीमाथि हत्यारा, बमकाण्ड र नरसंहारमा संलग्नताका आधारमा आजीवन कारावास वा कानूनअनुसारको अधिकतम सजाय दिनुपर्छ,” उजुरीमा उल्लेख छ।
साथै, उनले आफ्नो उजुरीलाई बेवास्ता गरी कुनै पनि अनुसन्धान नभए त्यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने चेतावनीसमेत दिएका छन्।
उल्लेखनीय छ, बमकाण्डमा दोषी ठहर भई जन्मकैद सजाय पाएका अफताब आलमलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले गत जेठ १४ गते सफाइ दिएको थियो। उक्त इजलासका न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनले उक्त फैसला सुनाएका थिए।
प्रकाशित मिति: १० असार २०८२, मंगलबार












प्रतिक्रिया