काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुनमा कर लगाउने निर्णयको उद्देश्य सुनको अवैध कारोबार नियन्त्रण गर्नु भएको स्पष्ट पारेका छन्। मंगलबार संसद्मा बोल्दै उनले सुनमा लगाइएको कर व्यवसायीको लागि नभइ विलासिता कर भएको बताएका हुन्।
उनले भने, “सुनमा लगाइएको कर सुन व्यवसायीले तिर्नुपर्ने होइन, यो उपभोक्ताले तिर्ने विलासिता कर हो। अवैध कारोबार रोक्न र पारदर्शिता कायम गर्न यस्तो नीति अपनाइएको हो।”
अर्थमन्त्री पौडेलले बजेटमार्फत सुनमा कर वृद्धि गरिएको नभइ अघिल्लो ‘थ्रेसहोल्ड’ हटाइएको र करको दायरा मात्र विस्तार गरिएको प्रस्ट पारे। “यदि व्यवसायीलाई यसबाट कुनै असहजता भएको छ भने, सरकारले गम्भीर रूपमा सुन्नेछ र आवश्यक परे समाधान खोज्नेछ,” उनले थपे।
उनले सुनमा लगाइएको विलासिता करको कार्यान्वयन सहज बनाउन सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
यसैबीच, सरकारले कर बढाएको भन्दै सुन व्यवसायीहरूले आन्दोलन गर्दै आएका छन्। उनीहरूले सुन पसलहरूमा कालो ब्यानर राखेर विरोध जनाइरहेका छन्।
प्रकाशित मिति: १० असार २०८२, मंगलबार













प्रतिक्रिया