काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भिजिट भिसा प्रकरणमा गठित छानबिन समितिप्रति असन्तोष जनाउँदै सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दल दुवैप्रति कडा टिप्पणी गरेका छन्।
भट्टराईले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा कनिष्ठ र बहालवाला कर्मचारीहरू सहभागी समितिलाई ‘हास्यास्पद छानबिन समिति’ को संज्ञा दिएका छन्।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी गर्दै उनले यस्तो समिति मार्फत सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका नेताहरूले राज्य शोषण र छलकपटपूर्ण गतिविधि ढाकछोप गर्न खोजेको आरोप लगाएका छन्।
“जनयुद्धको सुरुआतअघि हामीले यस्तै पाखण्डपूर्ण व्यवस्थालाई ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने पसल’ भन्दै जनतालाई सच्चा लोकतान्त्रिक गणतन्त्रको पक्षमा जागरूक बनाउने अभियान चलाएका थियौँ,” भट्टराईले लेखेका छन्।
उनले गणतन्त्र स्थापनापछि पनि यस्ता पाखण्ड कायम रहनु दुर्भाग्यपूर्ण भएको भन्दै कटाक्ष गरे— “आज दुई पुराना जोगीमाथि एक नयाँ जोगी थपिएर उस्तै नौटंकी देखाउँदै छन्। उनीहरूको यस्तो हर्कत जनताको सामान्य बुद्धिमत्तामाथिको घोर अपमान हो। यस्ता अभ्यास नेपाली जनताले र वैकल्पिक राजनीतिक शक्तिहरूले स्वीकार्न सक्दैनन्।”
भट्टराईले भिजिट भिसा मात्र नभई अन्य ठूला काण्डहरू— एनसेल, बुढीगण्डकी, साठी किलो सुन, भुटानी शरणार्थी र गिरीबन्धु प्रकरणजस्ता बहुचर्चित भ्रष्टाचार प्रकरणहरूको पनि स्वतन्त्र, निष्पक्ष र शक्तिशाली संयन्त्रमार्फत छानबिन गर्नुपर्ने माग गरेका छन्।
उनको जोड थियो— “यी सबै प्रकरणको गम्भीर रूपमा छानबिन गरी दोषीलाई हदैसम्मको कारबाही गरिएन भने जनताको विश्वास थप खस्कन्छ र वैकल्पिक शक्तिको माग अझ सशक्त बन्छ।”
प्रकाशित मिति: १० असार २०८२, मंगलबार













प्रतिक्रिया