वासिङ्टन । अमेरिकाका रास्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत एक विवादास्पद भिडिओ साझा गरेका छन्। यो भिडिओ उनले ‘इरानको आणविक कार्यक्रम पूर्ण रूपमा नष्ट भएको छैन’ भन्ने प्रारम्भिक गुप्तचर प्रतिवेदन सार्वजनिक भएपछि पोस्ट गरेका हुन्।

करीब ६० सेकेन्ड लामो भिडिओमा अमेरिकी बी-२ बमवर्षक विमान आकाशमा उडिरहेको दृश्य देखिन्छ, जसमा ठूलो मात्रामा बम खसालिएको छ। भिडिओमा बज्ने गीतमा ‘इरानमाथि बम खसाल’ भन्ने वाक्य पटक–पटक दोहोरिएको छ, जसले भिडिओको आशयलाई झनै आक्रामक बनाएको छ।

advertisement

पेन्टागनबाट चुहावट भएको प्रारम्भिक गोप्य मूल्यांकन प्रतिवेदनअनुसार, अमेरिकाले गरेको आक्रमणले इरानको आणविक कार्यक्रम नष्ट नगरी केही महिनाको मात्र ढिलाइ गराएको उल्लेख गरिएको छ।

तर ट्रम्पले उक्त रिपोर्टलाई अस्वीकार गर्दै कडा प्रतिक्रिया दिएका छन्। उनले भनेका छन्, ‘सीएनएन र न्युयोर्क टाइम्सले नक्कली समाचार फैलाइरहेका छन्। ती दुवै संस्थाले इतिहासकै सबैभन्दा सफल सैन्य कारबाहीमाथि प्रश्न उठाएर बदनाम गर्ने प्रयास गरेका छन्।’ ट्रम्पको दाबी छ— ‘इरानका आणविक अड्डाहरू पूर्ण रूपमा ध्वस्त पारिएका छन्।’

उनले थप भनेका छन्, ‘जनताले अब सीएनएन र न्युयोर्क टाइम्सको झुटको पोल खोल्न थालेका छन्। ती सञ्चारमाध्यमहरूले विश्वसनीयता गुमाउँदैछन्।’

यो घटनाले इरानमाथिको अमेरिकी आक्रमण र त्यसको प्रभावबारे नयाँ बहस चर्किएको छ भने ट्रम्पको भिडिओ साझा गर्ने शैली र भाषा पनि आलोचनाको केन्द्रमा परेको छ।

प्रकाशित मिति: ११ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com