काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा सांसद पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय समितिबाट पारित भइसकेका महत्वपूर्ण विधेयकहरू संसदमा प्रस्तुत नहुँदासम्म विभिन्न चलखेल हुने गरेको भन्दै गम्भीर चासो व्यक्त गरेका छन्।

बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रहरी विधेयकमाथिको छलफलमा भाग लिँदै उनले सरकार र समितिको ध्यान त्यसतर्फ खिचेका हुन्। संघीय निजामती सेवा विधेयक कार्यसूचीमा चढेर पनि हटाइएको प्रसंग उल्लेख गर्दै उनले यस्तो अवस्था चिन्ताजनक रहेको बताए।

advertisement

उनले भने, “संसदीय समितिबाट सदनमा जानुअघि धेरै चलखेल हुने गरेको पाइन्छ। अहिले पनि राजनीतिक परिस्थिति हेर्दा केही महत्वपूर्ण विधेयकहरू जो धेरै मेहनतपछि समितिबाट पारित भएका छन्, तिनलाई सदनको कार्यसूचीबाट हटाउने प्रयास हुनु आफैमा गम्भीर विषय हो।”

प्रचण्डले प्रमुख प्रतिपक्ष दलसँग सत्तारुढ दलले सहकार्य गर्नुपर्ने मुख्य कारणहरूमध्ये यही विधेयक प्रक्रिया नै एक रहेको स्पष्ट पारे। संघीय निजामती सेवा विधेयक र विद्यालय शिक्षा विधेयक सरकारको प्रतिवद्धता अनुसार समयमै ल्याइनुपर्ने उनले बताए।

उनले भने, “विद्यालय शिक्षा विधेयक असार १५ भित्रै ल्याइने भनिएको थियो। यी विधेयकहरू सदनमा पुर्‍याउन मैले पनि धेरै मेहनत गरेको छु। फेरि पनि यिनलाई अन्य बहानामा टार्ने प्रयास भए त्यसले गम्भीर नतिजा निम्त्याउन सक्छ।”

उनले समितिबाट सर्वसम्मत पारित भएका विधेयकहरू संसदमा यथोचित ढंगले प्रस्तुत र पारित हुनुपर्नेमा समितिका सभापति र सम्बन्धित मन्त्रीको ध्यानाकर्षण गराए।

त्यस्तै, प्रचण्डले प्रहरीसम्बन्धी विधेयकमा अधिकतम सुधारसहित पारित गरिनुपर्ने बताए। “विधेयकमा यसअघि भएका छलफलहरूको सन्दर्भलाई ध्यानमा राख्दै परिमार्जन गरेर दीर्घकालीन सोचका साथ पारित गर्नु आवश्यक छ,” उनले भने, “कहिले सर्वसम्मत त कहिले बहुमतबाट विधेयक पारित गरेका छौं, तर यसपटक संवेदनशील ढंगले अघि बढ्नुपर्छ।”

प्रकाशित मिति: ११ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com