काठमाडौं । प्यालेस्टिनस्थित गाजाको दक्षिणी सहर खान युनिसमा भएको एक शक्तिशाली विस्फोटमा सात इजरायली सैनिकको ज्यान गएको छ।
इजरायल डिफेन्स फोर्स (आईडीएफ) का अनुसार मंगलबार उनीहरू सवार बख्तरबन्द सवारीसाधनमा बम विस्फोट हुँदा सैनिकहरू मारिएका हुन्। बख्तरबन्द गाडीमा भएको विस्फोटपछि आगलागीसमेत भएको थियो। घटना गाजाको दोस्रो ठूलो सहर खान युनिस क्षेत्रमा भएको हो, जहाँ इजरायली सेना हाल सक्रिय छ।
आईडीएफले ज्यान गुमाउने सातमध्ये हालसम्म ६ जना सैनिकको नाम सार्वजनिक गरेको छ। मृतक सैनिकहरूको उमेर १९ देखि २१ वर्षसम्मको रहेको जनाइएको छ भने एक सैनिकको परिचय अझै सार्वजनिक गरिएको छैन।
उक्त दिन गाजामै भएको अर्को आक्रमणमा इजरायली सैनिकमाथि रकेट–प्रोपेल्ड ग्रिनेड (RPG) प्रहार गरिएको थियो। यस हमलामा दुई सैनिक घाइते भएका छन्, तर ज्यान जाने कुनै पुष्टि नभएको आईडीएफले जनाएको छ।
इजरायल र हमासबीच जारी द्वन्द्वका क्रममा गाजामा हिंसा चर्किंदै गएको छ, जसमा दुवैतर्फ मानवीय क्षति बढ्दो छ।
प्रकाशित मिति: ११ असार २०८२, बुधबार













प्रतिक्रिया