काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता विधेयक आउँदो असार १४ गते प्रतिनिधि सभाबाट पारित हुने स्पष्ट पारेका छन्।
बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले विधेयकलाई अब ढिलो नगरी छिटो पारित गर्नु पर्नेमा जोड दिए। “विधेयकलाई अड्काएर राख्न हुँदैन, छिटो छलफल गरेर टुंग्याऔँ”, उनले भने।
उनका अनुसार समितिले छोटो अवधिमै नागरिकता विधेयकमा पर्याप्त छलफल गरी निष्कर्षमा पुर्याइसकेको छ। अब प्रतिनिधि सभाको असार १४ गतेको बैठकबाट विधेयक पारित हुने तयारी गरिएको उनले बताए।
गृहमन्त्री लेखकले नेपाल प्रहरीसम्बन्धी कानून संशोधनका लागि तयार पारिएको अर्को विधेयक पनि यही असार महिनाभित्र समितिबाट टुंग्याएर सदनमा पेस गर्ने वातावरण मिलाइदिन आग्रह गरे।
“सरकार सबै विषयमा छलफल गर्न तयार छ”, उनले भने, “यदि सम्भव भयो भने प्रहरीसम्बन्धी विधेयक पनि यस महिनाभित्रै टुंग्याऔँ। नागरिकता विधेयकको विषय झनै चाँडो टुंग्याउनु जरुरी छ।”
बैठकमा नेपाल प्रहरीसम्बन्धी कानून संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भएको थियो। गृहमन्त्री लेखकले उक्त विधेयक सरकारको प्राथमिकतामा रहेको स्पष्ट पारे।
प्रकाशित मिति: ११ असार २०८२, बुधबार













प्रतिक्रिया