काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले आइसीसी टी–२० अन्तर्राष्ट्रिय वरियतामा बलिङतर्फ एकैपटक ४१ स्थानको सुधार गरेका छन्।
यसअघि शीर्ष १०० बाहिर रहेका सन्दीप स्कटल्याण्ड सिरिजपछि उत्कृष्ट प्रदर्शनका आधारमा ४१ स्थान उक्लिँदै ७५औं स्थानमा पुगेका हुन्। स्कटल्याण्ड र नेदरल्याण्ड्सविरुद्ध सानदार बलिङ गरेका उनले पुनः विश्व वरियतामा प्रवेश गरेका छन्।
त्यस्तै, अर्को स्पिनर ललितराजवंशीले पनि बलिङतर्फ २९ स्थान सुधार गर्दै ५४औं स्थानमा स्थान बनाएका छन्। उपकप्तान दीपेन्द्रसिंह ऐरी भने ८०औं स्थानमा छन्।
ब्याटिङतर्फ कुशल भुर्तेल १० स्थान सुधार गर्दै ८३औं स्थानमा उक्लिएका छन्। कप्तान रोहित पौडेल ६६औं, दीपेन्द्र ६१औं र आसिफ शेख ७७औं स्थानमा छन्।
अलराउण्डरको टी–२० वरियतामा दीपेन्द्रसिंह ऐरी तेस्रो स्थानमा यथावत छन्। कुशल भुर्तेल ६ स्थान सुधार गर्दै ३२औं स्थानमा, गुल्सन झा ६०औं, रोहित ६६औं, कुशल मल्ल ६७औं र करण केसी ८१औं स्थानमा छन्।
राष्ट्रिय टोलीको समग्र प्रदर्शन स्थिर रहँदै नेपाल १८औं स्थानमा यथावत् रहेको छ।
प्रकाशित मिति: ११ असार २०८२, बुधबार













प्रतिक्रिया