काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा रहेको प्रशासनले लाखौं आप्रवासीहरूको शरणार्थी दाबी खारेज गरी उनीहरूलाई अमेरिका बाहिर पठाउने तयारी गरेको खुलासा भएको छ। सीएनएनले दुई सरकारी स्रोतलाई उद्धृत गर्दै यो योजना ट्रम्प प्रशासनको आप्रवासन कडाइ गर्ने रणनीतिको पछिल्लो चरण भएको उल्लेख गरेको छ।
स्रोतहरूका अनुसार, संघीय अधिकारीहरूलाई आप्रवासन नियन्त्रणका लागि चर्को दबाब भइरहेका बेला प्रशासनले चुपचाप रूपमा ठूलो संख्यामा रहेका आप्रवासीहरूलाई देश निकाला योग्य बनाउने प्रक्रियामा काम गरिरहेको छ। निशाना बनाइएका व्यक्तिहरू ती हुन्, जो अवैध रूपमा अमेरिका प्रवेश गरेर पछि शरणको लागि आवेदन दिएका थिए।
यी व्यक्तिहरूको शरण सम्बन्धी मुद्दा खारेज भएपछि उनीहरू देश निकाला प्रक्रियामा पर्न सक्ने अनुमान गरिएको छ। यस कदमले लाखौं शरणार्थी आवेदकहरू प्रभावित हुन सक्ने देखिन्छ।
अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (यूएससीआईएस) मा पछिल्लो दशकमा शरणको लागि आवेदन दिने अधिकांशले आफू कसरी अमेरिका पुगे भन्ने जानकारी स्वयं दिएको पाइएको छ। तीमध्ये झन्डै २५ प्रतिशत आवेदकले गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेको बताएका थिए।
सन् २०२३ मा प्रकाशित एक संघीय प्रतिवेदनअनुसार शरणको लागि गैरकानुनी रूपमा प्रवेश गर्ने आवेदकको संख्या कम्तीमा दुई लाख पचास हजार पुगेको थियो। बाँकीले भने विभिन्न प्रकारका भिसा लिई कानुनी रूपमा अमेरिका प्रवेश गरेका थिए।
यो योजना कार्यान्वयनमा आएमा अमेरिकामा बसोबास गरिरहेका हजारौं आप्रवासी परिवारहरू तत्काल प्रभावित हुने अनुमान गरिएको छ।
प्रकाशित मिति: १२ असार २०८२, बिहिबार













प्रतिक्रिया