काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन यही जुलाई ६–७ मा ब्राजिलमा आयोजना हुने ब्रिक्स शिखर सम्मेलनमा शारीरिक रूपमा सहभागी नहुने भएका छन्। अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले उनीविरुद्ध जारी गरेको पक्राउ आदेशका कारण पुटिन सम्मेलनमा नगइ भिडियो लिंकमार्फत सहभागी हुने क्रेमलिनका विदेश नीति सल्लाहकार युरी उशाकोभले बताएका छन्।
उनका अनुसार, “आईसीसीसँग सम्बन्धित केही कानुनी जटिलताका कारण राष्ट्रपति पुटिन ब्राजिल जान सक्ने अवस्था रहेन। ब्राजिल सरकारले पनि यस विषयमा स्पष्ट र ग्यारेन्टी दिने किसिमको अडान लिन नसकेकोले हामीले भिडियोमार्फत सहभागी हुने निर्णय गरेका हौं,” उशाकोभले भने।
पुटिनको अनुपस्थितिमा रुसी विदेशमन्त्री सर्गेई लभरोभले सम्मेलनमा रुसको प्रतिनिधित्व गर्नेछन्। अर्कातर्फ, चिनियाँ राष्ट्रपति सी जिनपिङले पनि ब्रिक्स शिखर सम्मेलनमा भाग नलिने भएका छन्, विभिन्न मिडिया स्रोतले जनाएका छन्।
आईसीसीले सन् २०२३ मा पुटिनविरुद्ध युक्रेन युद्धको सन्दर्भमा बालबालिकालाई अवैध रूपमा रुस पठाएको अभियोगमा पक्राउ पुर्जी जारी गरेको थियो। पुटिनमाथि युद्ध अपराधमा संलग्न रहेको आरोप छ, तर रुसले उक्त आरोपलाई अस्वीकार गर्दै पुर्जीलाई ‘अवैध र निरर्थक’ भनेको छ।
यद्यपि रुसले आईसीसी सन्धिमा हस्ताक्षर नगरेको भए पनि सन्धिको सदस्य राष्ट्रमा पुटिनले यात्रा गर्दा पक्राउ पर्ने जोखिम कायम रहन्छ। यही जोखिमका कारण सन् २०२३ मा पनि उनले दक्षिण अफ्रिकामा आयोजित ब्रिक्स सम्मेलनमा सहभागिता जनाएनन्। तर त्यही वर्ष मङ्गोलियाले भने उनलाई रातो कार्पेटसहितको स्वागत गरेको थियो, यद्यपि मङ्गोलिया पनि आईसीसी सदस्य राष्ट्र हो।
यसपटकको ब्रिक्स सम्मेलनमा पनि पुटिनको अनुपस्थिति अन्तर्राष्ट्रिय कूटनीतिक वृत्तमा चासोको विषय बनेको छ।
प्रकाशित मिति: १२ असार २०८२, बिहिबार













प्रतिक्रिया