काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले हालैको युद्धमा अद्वितीय साहस र बहादुरी देखाएको बताएका छन्। उनले इरानी सेनाको प्रशंसा गर्दै इरानले शौर्यका साथ लडेको उल्लेख गरेका हुन्।

स्पेनमा सम्पन्न नेटो शिखर सम्मेलनको क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानमाथिको प्रतिबन्ध हटाउने सम्भावनाबारे प्रश्न गर्दा भने, “उनीहरूले हालै एउटा गम्भीर युद्धको सामना गरे र असाधारण साहसका साथ लडे। त्यसका लागि म उनीहरूलाई सम्मान दिन्छु।”

advertisement

ट्रम्पले इरानको आर्थिक अवस्था सुधार गर्नका लागि उनीहरूलाई तेल बेच्ने स्वतन्त्रता आवश्यक रहेको बताए। “यदि उनीहरूले तेल बेच्न चाहन्छन् भने त्यो गर्न सक्छन्। आफ्नो मुलुक पुनः निर्माण गर्न उनीहरूलाई आर्थिक स्रोत आवश्यक छ,” उनले भने।

उनले चीनले इरानबाट तेल किन्ने सम्भावनाको संकेत पनि गरे। साथै, ट्रम्पले इरानसँग आगामी साताभित्र वार्ता हुने जानकारी गराउँदै सम्भावित सम्झौताबारे संकेत दिए। “हामीबीच कुनै सम्झौता हुन सक्छ, हुन पनि सक्छ, नहुन पनि सक्छ। तर त्यो अहिले नै अनिवार्य छैन,” ट्रम्पले भने।

उनले पुनः दोहोर्‍याए कि इरानसँग आणविक हतियार रहनु नहुने अमेरिकी नीति यथावत् छ। “मैले पहिले नै स्पष्ट भनेको छु — इरानसँग आणविक हतियार हुन सक्दैन। ती हतियार हामीले पूर्ण रूपमा नष्ट गरिसकेका छौँ,” ट्रम्पको दाबी थियो।

इरानमाथि अमेरिकाले गरेको आक्रमणपछि राष्ट्रपति ट्रम्पबाट आएको यस्तो बयानले अन्तर्राष्ट्रिय कूटनीतिक वृतमा चासो थपिएको छ। इरानको साहसप्रति खुलेर प्रशंसा जनाउनु ट्रम्पको पछिल्लो रणनीतिक सन्देशका रूपमा हेरिएको छ।

प्रकाशित मिति: १२ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com