काठमाडौं । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय सीमाको सुरक्षा अत्यन्तै संवेदनशील र जिम्मेवारीपूर्ण कार्य भएको बताएका छन्।
सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय, हलचोकमा आयोजित ‘वरिष्ठ अधिकृत सम्मेलन २०८२’ को समापन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले मातृभूमिको रक्षा गर्ने जिम्मा सशस्त्र प्रहरीले प्रभावकारी रूपमा निर्वाह गरिरहेको बताए।
उनले सशस्त्र प्रहरी बलप्रति आम नागरिकको भरोसा दिनप्रतिदिन बढ्दो क्रममा रहेको उल्लेख गर्दै गृह मन्त्रालय सशस्त्र प्रहरीका आवश्यकताप्रति पूर्ण रूपमा गम्भीर रहेको स्पष्ट पारे। “सशस्त्र प्रहरीको आधारभूत आवश्यकता पूरा गर्न मन्त्रालय प्रतिबद्ध छ,” उनले भने। साथै, मन्त्रालयको भूमिका नीतिगत र कानुनी मार्गदर्शनको हुने स्पष्ट पार्दै गृहमन्त्रीले सशस्त्र प्रहरीको कार्यमा कुनै हस्तक्षेप नगरिने बताए।
उद्योग तथा जलविद्युत (हाइड्रोपावर) क्षेत्रमा सुरक्षाका लागि राज्यले आवश्यक संरचना उपलब्ध गराउने भए पनि त्यसको खर्च सम्बन्धित उद्योग वा आयोजनाले बेहोर्ने व्यवस्था मिलाउने तयारी भइरहेको पनि उनले जानकारी दिए।
मनसुनजन्य विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको भूमिका महत्त्वपूर्ण हुने भएकाले तयारी अवस्थामा रहन उनले निर्देशन दिए। “जिम्मेवारी लिएको छौँ भने जबाफदेही पनि हुनुपर्छ,” गृहमन्त्री लेखकले भने, “सबै प्रदेशका सशस्त्र प्रहरी प्रमुखहरूले राजस्व चुहावट नियन्त्रण र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा केन्द्रीत भएर कार्य गर्नुपर्छ।”
राजस्व चुहावटको नियन्त्रणका लागि कडाइका साथ काम गर्न उनले निर्देशन दिएका छन्। गृहमन्त्री लेखकको भनाइमा स्पष्ट छ — सशस्त्र प्रहरी बललाई अझ सक्षम, जवाफदेही र नागरिकमैत्री बनाउँदै देशको सुरक्षा प्रणालीलाई मजबुत पारिनेछ।
प्रकाशित मिति: १२ असार २०८२, बिहिबार












प्रतिक्रिया