काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियामा प्रवेश गरेपछि पार्टीले वर्गीय आधार र जनतासँगको सम्बन्ध कमजोर बनाएको स्वीकार गरेका छन्

अखिल नेपाल ट्रेड युनियन महासंघ (अनेटा) को बिहीबार काठमाडौंमा सम्पन्न बैठकलाई सम्बोधन गर्दै उनले पार्टीको मूल आधार मजदुर र श्रमिक वर्गसँगको सम्बन्ध विच्छेद हुनु गम्भीर त्रुटि भएको स्पष्ट रूपमा बताएका हुन्।

advertisement

दाहालले भने, “जनयुद्धकाल र २०६४ सालसम्म हाम्रो शक्ति मजदुर–श्रमिक वर्ग थियो। हामी उनीहरूसँगै थियौं। तर शान्ति प्रक्रियामा प्रवेश गरेपछि हाम्रो ध्यान त्यसतर्फ रहन सकेन। यो ठूलो गल्ती भयो।”

उनका अनुसार माओवादी केन्द्रले हालै प्रारम्भ गरेको ‘जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियान विगतमा टुटेको जनसम्बन्धलाई पुनर्स्थापित गर्ने प्रयास हो।

“हामीले विगतका कमजोरी जनतामाझ खुलेर स्वीकार गर्नुपर्छ। अब हामी फेरि हाम्रो वर्गीय आधार र समुदायमा फर्कने यात्रा प्रारम्भ गर्दैछौं,” दाहालले बताए।

उनले वर्तमान संघर्ष दलाल पुँजीवाद र बिचौलिया प्रवृत्तिविरुद्धको भएको उल्लेख गर्दै भने, “संविधान र व्यवस्था जोगाउन हामीले सरकारमा हुँदा पनि विद्रोह गर्नुपर्‍यो, प्रतिपक्षमा हुँदा सत्तापक्षको जस्तो व्यवहार गर्नुपर्‍यो। यस्ता विरोधाभासी अवस्थाबाट गुज्रिनुपरेको छ।”

उनले थपे, “राजनीतिक प्रणाली परिवर्तन भयो, तर राज्य संयन्त्र, कर्मचारी प्रणाली र न्यायपालिकामा परिवर्तन आउन सकेको छैन। त्यसैले संघीय निजामती ऐनजस्ता कानुनको कार्यान्वयन समेत अवरुद्ध भएको छ। संघर्ष अझै समाप्त भएको छैन।”

दाहालले आन्दोलनको नयाँ चरणमा प्रवेश गर्नका लागि वर्गीय संगठनहरूलाई सशक्त रूपमा क्रियाशील बनाउनुपर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति: १२ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com