काठमाडौं । अमेरिकाले इरानमा गैरपरमाणु ऊर्जा उत्पादनका लागि ३० अर्ब डलरसम्मको लगानी गर्ने प्रस्तावमा छलफल अघि बढाएको छ।
ट्रम्प प्रशासनले इरानलाई वार्तामा ल्याउने, हाल लगाइएका प्रतिबन्धहरु हटाउने र विदेशी बैंकहरुमा रोक्का गरिएको रकम फुकुवा गरिदिने लगायतका प्रस्तावसहित गैरपरमाणु ऊर्जाको छलफल अघि बढाएको सीएनएनले जनाएको छ।
यो छलफल हालै इजरायल र इरानबीचको सैन्य कारबाहीपछि भएको युद्धविराम सम्झौतापछि पनि जारी रहेको विश्वसनीय स्रोतहरुले बताएको सीएनएनको दाबी छ।
ट्रम्प प्रशासनका अनुसार प्रस्तावहरू प्रारम्भिक चरणमा छन् र परिवर्तनशील छन्। यद्यपि, इरानले युरेनियम सम्वद्र्धन गर्न नपाउने सर्त चाँहि अपरिवर्तनीय छ।
गत शुक्रबार व्हाइट हाउसमा अमेरिकी विशेष दूत स्टिभ विटकोफ र खाडी मुलुकका प्रतिनिधिबीच भएको गोप्य बैठकमा सम्भावित सर्तहरूको विस्तृत छलफल भएको थियो।
बैठकको भोलिपल्टै अमेरिका इरानमा हवाई आक्रमण गरेको थियो। स्रोतहरूका अनुसार, प्रस्तावमा समावेश गरिएको सर्तअनुसार, इरानको लागि गैरपरमाणु ऊर्जा कार्यक्रममा अरब साझेदारहरूले लगानी गर्नेछन्।
अमेरिकाले भने आर्थिक लगानीमा प्रत्यक्ष सहभागी नहुने स्पष्ट पारेको छ। अन्य प्रस्तावहरूमा इरानमाथि लगाइएका केही प्रतिबन्ध हटाउने र विदेशी बैंकमा रोक्का भएको ६ अर्ब डलर बराबरको रकम खुला गरिदिने विषय पनि रहेको छ।
यसैबीच, ट्रम्पले सार्वजनिक रूपमा परमाणु सम्झौताको आवश्यकतामा खासै चासो नराखेको बताए पनि, उनका सल्लाहकारहरू दीर्घकालीन सम्झौताको पक्षमा रहेको पाइएको छ।
इरानसँगको वार्ताका लागि कतार महत्वपूर्ण मध्यस्थको भूमिकामा रहेको छ, जसले यसै साता इजरायल–इरानबीचको युद्धविराम सम्झौता गराउन पनि भूमिका खेलेको थियो।
प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार













प्रतिक्रिया