काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको राजनीतिमा पुन: सक्रिय हुने तयारीमा रहेको चर्चा चुलिएको छ। सोही सन्दर्भमा भण्डारीले आगामी असार १४ गते विशेष सम्बोधन गर्ने भएकी छिन्। उक्त सम्बोधन एमालेका पूर्व महासचिव तथा उनका जीवनसाथी मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा हुने कार्यक्रममार्फत हुनेछ।

नेपाल राष्ट्रिय सभागृहमा आयोजना हुने उक्त कार्यक्रमको प्रमुख अतिथि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली रहनेछन् भने विद्यादेवी भण्डारीलाई विशिष्ट अतिथिको रूपमा आमन्त्रण गरिएको छ। पार्टी निकट स्रोतका अनुसार सोही अवसरमा भण्डारीले एमाले राजनीतिमा सक्रिय भूमिका पुनः निर्वाह गर्ने घोषणा गर्ने तयारीमा छिन्।

advertisement

भण्डारी र ओलीबीच पछिल्लो समय देखिएको राजनीतिक दूरी, साथसाथै एमाले विधानमा उल्लेखित ७० वर्षे उमेरहदसम्बन्धी व्यवस्था हटाउने वा कायम गर्ने विषयमा देखिएको मतभेदका कारण यो सम्बोधन थप चासोको विषय बनेको छ। यद्यपि एमाले विधानमा उल्लेखित उमेरहद हाललाई निलम्बनमा राखिएको छ।

पूर्व राष्ट्रपति भण्डारीको सम्भावित राजनीतिक पुनरागमनको पृष्ठभूमिमा प्रधानमन्त्री ओलीको सो कार्यक्रममा उपस्थित हुने–नहुनेबारे विभिन्न अड्कलहरू लागिरहेका छन्। स्रोतका अनुसार ओलीको सोही दिन युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमण तय भएकाले उनले कार्यक्रमको छोटो भागमा मात्र सहभागिता जनाउनेछन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामशरण बजगाईंले यसबारे प्रस्ट पार्दै भने, “प्रधानमन्त्रीज्यूले छोटो समयका लागि कार्यक्रममा सहभागी भई त्यसपछि युरोप जाने तयारी गर्नुभएको हो।”

प्रधानमन्त्री ओली स्पेनमा असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन जाने कार्यक्रम छ। यसै कारण पनि उनले राष्ट्रिय सभागृहमा हुने कार्यक्रम सकेसम्म चाँडो सकेर प्रस्थान गर्ने जनाइएको छ।

फाउन्डेशनकी अध्यक्ष उषाकिरण भण्डारीका अनुसार प्रधानमन्त्री ओलीले उपलब्ध गराएको समयको आधारमा कार्यक्रमको तालिका तय गरिएको हो। “उहाँले नै समय दिएकाले हामीले कार्यक्रम तय गरेका हौं। उहाँ सम्बोधन गरेर त्यसपछि स्पेन जानुहुन्छ,” उनले स्पष्ट पारिन्।

एमालेका कार्यकर्ताहरूले भण्डारीको सम्भावित सम्बोधनलाई विशेष महत्वका साथ हेरिरहेका छन्। पार्टीभित्रको सीमित लोकतन्त्र, आन्तरिक संरचना र नेताबीचको संवादहीनतालाई चिर्दै भण्डारीले कुनै ठोस राजनीतिक सन्देश दिने अपेक्षा गरिएको छ।

यसरी असार १४ गतेको सम्बोधन एमालेको आगामी राजनीतिक दिशा निर्धारण गर्ने सम्भावित मञ्चका रूपमा हेरिएको छ, जसले पूर्व राष्ट्रपति भण्डारीको भूमिकालाई पुनः स्थापित गर्नेछ कि भन्ने सवाल अहिले राजनीतिक वृत्तमा चर्चाको केन्द्रबिन्दु बनेको छ।

प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com