वीरगञ्ज । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीका नेतृत्वमा भएका महत्वपूर्ण कार्य र उपलब्धिहरू जनतासम्म प्रभावकारी रूपमा पुर्याउन नसकिएकोप्रति चिन्ता व्यक्त गरेका छन्।
शुक्रबार वीरगञ्जमा नेपाली कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै खड्काले कांग्रेसले मुलुकमा गरेको ठूला विकास र नीतिगत परिवर्तनबारे जनताले अपेक्षाअनुसार जानकारी नपाएको बताए।
“देशमा ठूला–ठूला काम कांग्रेसकै नेतृत्वमा भएका छन्, तर ती जनतासमक्ष पुर्याउन हामी चुकेका छौं,” उनले भने, “कुनै न कुनै ठाउँमा कमजोरी छ, जुन सच्याउन जरुरी छ।”
उनले पार्टीका अभियानहरू मतदातासम्म नपुगेको उल्लेख गर्दै प्रशिक्षकहरूले त्यसलाई सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यक्त गरे। “तपाईंहरू प्रशिक्षकहरूको माध्यमबाट हाम्रो काम र विचार जनता माझ पुर्याउने सेतु बन्न सक्नुहुन्छ,” उनले जोड दिए।
उपसभापति खड्काले कांग्रेस नेतृत्वमा स्थापना भएका विश्वविद्यालयहरू, पूर्वाधार विकास, सिँचाइजस्ता क्षेत्रमा भएका कामहरू जनतासमक्ष प्रचारप्रसारमा कमजोर भएको बताए। “हामीले विकास गर्यौं, तर त्यो देखाउन सकेनौं,” उनले स्पष्ट पारे।
संघीयता र समावेशिता जस्ता संवैधानिक मुद्धामा पनि पर्याप्त जनचेतना नबढेको स्वीकार गर्दै खड्काले पार्टीले शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार क्षेत्रका नीतिहरूमा ल्याएका परिवर्तनबारे जनतालाई बुझाउन अझ सक्रिय हुनुपर्ने बताए।
“हामीसँग नीति छ, उपलब्धि छ, तर त्यो जनताको मनसम्म पुगोस् भनेर हातेमालो गरेर अघि बढ्नुपर्ने आवश्यकता छ,” उनले भने।
कार्यक्रममा उनले आगामी दिनमा प्रशिक्षकहरूलाई पार्टीको नीति र कार्यक्रम प्रभावकारी रूपमा आम जनतामा पुर्याउन सशक्त माध्यमका रूपमा प्रस्तुत गर्दै निरन्तर सक्रिय रहन आग्रह गरे।
प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार













प्रतिक्रिया