काठमाडौं । युरोपेली संघ (इयू) ले रुसमाथि लगाइएको प्रतिबन्ध थप ६ महिनाका लागि लम्ब्याउने निर्णय गरेको छ। हंगेरी र स्लोभाकियाको असहयोगका बाबजुद इयूका नेताहरू युक्रेनमा जारी युद्धको सन्दर्भमा रुसविरुद्धको दबाब कायम राख्ने सहमतिमा पुगेका हुन्।

ब्रसेल्समा सम्पन्न शिखर सम्मेलनमा इयू सदस्य राष्ट्रहरूबीच भएको निर्णयअनुसार रुसको केन्द्रीय बैंकको झण्डै २०० अर्ब युरो (अन्दाजी २३४ अर्ब अमेरिकी डलर) बराबरको सम्पत्ति जफत गर्ने लगायतका प्रतिबन्धहरू सन् २०२६ को सुरु सम्म कायम रहनेछ।

advertisement

हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले प्रतिबन्ध लम्ब्याउने विषयमा अघिल्लो चरणमा असहमति जनाएका थिए। यदि उनले यसपटक पनि नमानेको भए, मस्कोलाई आर्थिक दबाबमा राख्ने इयूको प्रयासमा गम्भीर असर पर्ने आशंका गरिएको थियो। यस्तो अवस्थामा इयूले आपतकालीन योजना तयार पारिरहेको अधिकारीहरूले जनाएका छन्।

प्रत्येक ६ महिनामा नवीकरण गर्नुपर्ने प्रतिबन्धलाई यसपटक पनि निरन्तरता दिइए तापनि, नयाँ प्रतिबन्ध प्रस्ताव भने पास हुन सकेन। यसको कारण हंगेरीसँगै स्लोभाकियाले पनि असहमति जनाउनु हो।

स्लोभाकियाका प्रधानमन्त्री रोबर्टो फिकोले सन् २०२७ को अन्त्यसम्म रुसी ग्यासको आयात बन्द गर्ने इयूको योजनासँग असहमति जनाउँदै नयाँ प्रतिबन्ध प्रस्तावमा अवरोध गरे। स्लोभाकिया रुसी ग्यासमा निर्भर रहँदै आएको छ र ग्यास ट्रान्जिट शुल्कबाट अर्थराजस्व संकलन गर्दै आएको कारण ब्रसेल्ससँगको यो विषय विवादको कारण बनेको हो।

प्रधानमन्त्री फिकोले युरोपेली आयोग प्रमुख उर्सुला भोन डेर लेयेनसँग वार्ता गरे पनि आफूले मागेको प्रतिबन्ध प्याकेज रोक्न नसकेको बताएका छन्।

यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भिडियो सम्बोधनमार्फत इयू नेताहरूलाई रुसको तेल व्यापार, गैरकानुनी रूपमा सञ्चालन गरिने ट्यांकरहरू, बैंकिङ प्रणाली, तथा हतियार निर्माणमा प्रयोग हुने उपकरण र पार्टपुर्जाहरूको आपूर्ति शृंखला विरुद्ध थप कडा प्रतिबन्ध ल्याउन आह्वान गरेका छन्।

तर, सहभागी इयू अधिकारीहरूले जी–७ राष्ट्रहरूको सहमतिबिना रुसको तेल निर्यातमा मूल्य सीमा घटाउने प्रस्ताव छलफलमा अघि बढ्न नसकेको बताएका छन्। वासिङ्टनले हाललाई उक्त प्रस्तावमा समर्थन जनाउन अस्वीकार गरेपछि यो विषय एजेन्डाबाट बाहिरिएको हो।

यसरी केही सदस्य राष्ट्रहरूको असहमति र अमेरिकी चासकाबीच पनि इयूले हाल कायम रहेका प्रतिबन्धहरूलाई लम्ब्याउँदै युक्रेनको पक्षमा आफ्नो समर्थन दोहोर्याएको छ।

प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com