काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा पुनः प्रवेश गर्ने तयारीमा रहेकी छन्। नेकपा (एमाले) का विचारनायक स्व. मदन भण्डारीको स्मृतिमा शनिबार (भोलि) काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना हुन लागेको ‘मदन भण्डारी स्मृति दिवस’ कार्यक्रममा उनले आफ्नो राजनीतिक पुनरागमनको घोषणा गर्ने सम्भावना उच्च रहेको छ।

मदन भण्डारी फाउन्डेसनद्वारा आयोजना गरिने उक्त कार्यक्रम एमालेभित्र राजनीतिक दृष्टिकोणले निकै अर्थपूर्ण मानिएको छ। पार्टीका स्थायी समिति सदस्य कर्णबहादुर थापाका अनुसार, भण्डारीले भोलिको कार्यक्रममा कुनै अस्पष्टता नरहने गरी आफ्नो राजनीतिक दृष्टिकोण सार्वजनिक गर्नेछिन्।
“उहाँले केपी ओलीसँग गम्भीर छलफल गरिसक्नुभएको छ,” थापाले भने, “अब उहाँले सार्वजनिक रूपमा स्पष्ट सन्देश दिनुहुन्छ भन्ने हाम्रो विश्वास छ।”

advertisement

विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्किने चर्चा उनी राष्ट्रपति पदबाट निवृत्त भएपछि शुरु भएको हो। तर, हाल आएर यो विषय एमाले वृत्तमा थप गहिरो र चासोको विषय बनेको छ। चर्चा यस अर्थमा थप रोचक बनेको छ कि उनी पार्टी नेतृत्व तहमै पुग्ने लक्ष्यसहित सक्रिय राजनीतिमा फर्कन लागेकी हुन्।

भण्डारी पछिल्लो समय मदन भण्डारी फाउन्डेसनमार्फत देशभित्र राजनीतिक सक्रियता देखाउँदै आएकी छन्। केही समयअघि उनले छिमेकी मुलुक चीनको भ्रमणसमेत गरेकी थिइन्। उनी निकट नेताहरूका अनुसार, सो भ्रमणबाट भण्डारी ‘कम्युनिस्ट एकता र राष्ट्रिय नेतृत्व’का लागि चीनको सद्भाव लिएर फर्किएकी हुन्।

यसैबीच, असार ५ गते साँझ एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र भण्डारीबीच गोप्य भेटवार्ता भएको थियो। उक्त भेटमा भण्डारीले पार्टीको आगामी नेतृत्वका लागि ओलीसँग मिलेर अघि बढ्ने संकेतसमेत दिएकी थिइन्। यद्यपि, ओलीले यसबारेमा हालसम्म सार्वजनिक रूपमा केही प्रतिक्रिया दिएका छैनन्। उनले पछिल्ला दिनमा ‘अझै २० वर्षसम्म पार्टी नेतृत्व गर्नसक्ने क्षमता रहेको’ जस्ता टिप्पणीहरू गर्दै आएका छन्।

यस पृष्ठभूमिमा शनिबारको कार्यक्रम भण्डारीको राजनीतिक पुनरागमन मात्र नभई एमालेको भावी नेतृत्वको सन्दर्भमा पनि निर्णायक मोडको रूपमा हेरिएको छ। एमालेभित्र बढ्दो शक्ति सन्तुलनको बहसबीच भण्डारीको घोषणा पार्टीको दिशा र रणनीतिमा ठूलो प्रभाव पार्ने आँकलन गरिँदैछ।

प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com