काठमाडाैं । गण्डकी प्रदेशको आगामी वर्षको बजेटमाथि प्रदेशसभा बैठकमा व्यापक आलोचना भइरहेका बेला मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कविता र उखानको माध्यमबाट जवाफ दिएका छन्।
शुक्रबार बसेको प्रदेशसभा बैठकमा सांसदहरूले बजेट टुक्रे भएको, केही जिल्लामा मात्र केन्द्रित गरिएको तथा अधिकांश क्षेत्रको उपेक्षा गरिएको आरोप लगाएका थिए। सांसदहरूको ती आरोपको जवाफ दिँदै मुख्यमन्त्री पाण्डेले स्रोत अभावका कारण सबै क्षेत्रको माग समेट्न नसकिएको बताए।
उनले भने, “जुन दिन मन छ, तिमीलाई तारा दिन मन छ। न त सक्छु टिप्न जुन, न त सक्छु तारा, दिऊँ कि के हो मुटु बलि, कति टुक्रा बनाऊँ?”
उनको यो अभिव्यक्तिपछि सदनमा ताली र हाँसो सुनिएको थियो।
मुख्यमन्त्री पाण्डेले बजेटको ठूलो हिस्सा विगत सरकारका बहुवर्षीय योजनाका दायित्व पूर्तिमा खर्च गर्नुपर्ने अवस्था आएको बताए। विशेषतः गोरखा र कास्की जिल्लामा बजेट बढी विनियोजन भएको विषयमा उठेको प्रश्नको जवाफ दिँदै उनले भने, “पुराना दायित्व घटाउने क्रममा ती जिल्लामा बढी रकम जानु स्वाभाविक हो। गोरखामा मात्र ७० करोड रुपैयाँ हाल्नुपर्ने अवस्था छ।”
उनका अनुसार विगतदेखि अलपत्र परेका योजनाहरू सम्पन्न गर्न, स्वास्थ्य संस्थामा बेड, उपकरण र जनशक्ति थप गर्न, घरेलु मदिराको ब्रान्डिङ गर्न र न्यायिक समितिका लागि कानुनी सहजकर्ता पठाउनेजस्ता योजनामा सरकार केन्द्रित भएको छ।
मुख्यमन्त्री पाण्डेले बजेट कार्यान्वयन र नीतिगत सुधार सरकारको प्राथमिकता रहेको बताउँदै लोकतान्त्रिक गणतन्त्रप्रति सचेत रहन सबै सांसदलाई आग्रह गरे। उनले अन्त्यमा फेरि कवितामार्फत प्रतिक्रिया दिएका थिए :
“सुनेकै छु, बुझेकै छु सबै तिम्रा कुराहरू। धनसारै सानो भएर हो, रहेका सपना अधुराहरू।”
प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार












प्रतिक्रिया