बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले सरकारमाथि पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा थुनामा राखेको गम्भीर आरोप लगाएका छन्।

रुपन्देही–३ को शुद्धोधनमा आयोजित एक कार्यक्रममा बोल्दै वाग्लेले संसद अवरुद्ध गर्दै आफ्ना सांसदलाई सडकमा धकेलिएको दाबी गरे। तर, उनले रास्वपा सडकबाटै पनि जनताको मुद्दा उठाउन तयार रहेको बताए।

advertisement

“हामीलाई संसदबाट निकालेर सडकमा ल्याइयो, अब सडकबाटै संसद चलाउनेछौं,” वाग्लेले भने, “तर जनताको मुद्दा कुनै हालतमा सम्झौता गरेर छाड्दैनौं।”

सभापति लामिछानेको पक्षमा सुरु गरिएको हस्ताक्षर अभियान उद्घाटन गर्दै उनले हाल रास्वपाका १९ जना सांसद नै सत्ता गठबन्धनलाई भारी परेको जिकिर गरे। “रविले ४–५ महिनाको तयारीमा १२ लाख भोट ल्याएर २१ जना सांसद जिताएपछि पुराना दलहरू हतारिएका छन्,” उनले दाबी गरे।

वाग्लेले रवि लामिछानेविरुद्धको सहकारी प्रकरण सरकारको बदनियतपूर्ण प्रतिशोध भएको दाबी गर्दै भने, “उस्तै मुद्दामा अन्य नेताहरूलाई चिया खुवाएर बिदा गरिन्छ, तर रविमाथि दर्जनौं मुद्दा लादिएको छ।”

उनका अनुसार लामिछानेमाथि हालसम्म ४–५ जिल्लाका ३–३ वटा मुद्दा, दुई–दुई वटा अदालत र सर्वोच्चसम्म पुर्‍याइएका झण्डै ४०–४५ वटा कानुनी झमेला खडा गरिएको छ।

“पूर्वप्रधानमन्त्रीलाई १८ करोडको आरोपमा सफाइ दिइन्छ, ३५ लाख बुझाएर हिँड्न दिइन्छ, तर रविलाई थुनामा राखेर यातना दिइन्छ,” वाग्लेले भने।

उनले रविलाई भैरहवाको चर्को गर्मीमा ‘टिनको छानामुनि’ थुनिएको अवस्थामा भेटेको उल्लेख गर्दै रविको उच्च मनोबलप्रति प्रशंसा व्यक्त गरे।

“सरकारको दमनले जनतामा रविप्रति सहानुभूतिको लहर बढ्दो छ, हामी बलियो भएरै सत्ता पक्षलाई चुनौती दिनेछौं,” उनले थपे।

वाग्लेले लामिछानेमाथि षड्यन्त्र गर्नेहरू ३५ वर्षदेखि सत्तामा रजगज गर्ने बदनाम पात्र भएको आरोप लगाए। साथै, केही दलहरूले आत्मसमर्पण गर्दै सत्ता प्राप्तिका लागि मूल्य र विचार बेचिरहेको आरोपसमेत लगाए।

रुपन्देही–३ मा हुन लागेको उपचुनावबारे बोल्दै उनले रास्वपाले जित्नसक्ने योग्य उम्मेदवार मैदानमा उतार्ने बताए। उनले हस्ताक्षर अभियानलाई पार्टीको तेस्रो स्थापना दिवस र ‘मिशन २०८४’ को अभियानसँग जोडिएको जनसमर्थनको अभिव्यक्ति भएको पनि उल्लेख गरे।

प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com