काठमाडौं । कृषिप्रधान देश नेपालमा ११ महिनामा झन्डै ३९ अर्ब रुपियाँ बराबरको धानचामल आयात भएको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१ ८२ को ११ महिनामा ३८ अर्ब ९४ करोड रुपियाँको धानचामल आयात भएको हो । गत वर्ष सो अवधिमा २१ अर्ब १२ करोड रुपियाँ बराबरको धानचामल आयात भएको थियो । यो वर्ष झन्डै दोब्बर रकमले धानचामलको आयात बढेको तथ्याङ्कले देखाएको छ । चालु आवको ११ महिनामा सबैभन्दा धेरै २१ अर्ब १५ करोड रुपियाँ २६ करोड १९ लाख १९ हजार केजी धान आयात भएको छ । गत वर्ष सो अवधिमा १२ अर्ब ४३ करोड रुपियाँ बराबरको १५ करोड ३७ लाख आठ हजार केजी धान आयात भएको थियो ।
यस्तै चालु आवमा १७ अर्ब ७८ करोड ५७ लाख रुपियाँ बराबरको पाँच करोड ७३ लाख ६६ हजार केजी चामल आयात भएको छ । गत वर्ष सो अवधिमा आठ अर्ब ६९ करोड १६ लाख रुपियाँको दुई करोड ६९ लाख सात हजार केजी चामल आयात भएको थियो ।
यस वर्ष धानचामल आयातमा दोब्बरले बढेको तथ्याङ्कले देखाएको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा ठुलो परिमाणमा आयात हुने गरेको हो । मुलुकमा धानको उत्पादन बढे पनि आयात पनि बढ्दै गएको तथ्याङ्कले देखाएको छ । कृषि विभागका अनुसार मुलुकमा वार्षिक ७० लाख मेट्रिक टन धानको माग रहेकोमा १० लाख मेट्रिक टन अपुग छ ।
विभागका महानिर्देशक प्रकाश सन्जेलले नेपालमा कम उत्पादन हुने मसिना तथा बास्नादार चामलको प्रयोगले गर्दा आयात बढी भएको बताए । भारत सरकारले निर्यातमा कर घटाएका कारणले पनि धानचामलको आयात बढी भएको सरकारी अधिकारीहरु बताउँछन् । धानको उत्पादन बढाउन बर्खे धानको उत्पादनसँगै उत्पादकत्व र चैते धानको क्षेत्रफल विस्तार गर्न सकिने जानकारहरुको सुझाव छ ।
प्रकाशित मिति: १४ असार २०८२, शनिबार












प्रतिक्रिया