काठमाडौं । सरकारले नेपालमा वृक्षरोपणको २० वर्षे महाअभियान शुरु गर्ने भएको छ। अन्तर्राष्ट्रिय वृक्षरोपण दिवसका अवसर पारेर शनिबार ‘सगरमाथा वृक्षरोपण महाअभियान २०२५(२०४५’ शनिबार शुरु हुन लागेको हो।

महाअभियानको उद्घाटन ललितपुरको गोदावरीस्थित जिल्ला वन कार्यालय परिसरमा हुने भएको छ। शुक्रबार वन तथा वातावरण मन्त्रालयले पत्रकार सम्मेलन गरी वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले महाअभियानको शुरुवात गर्ने जानकारी दिएको हो।

advertisement

महाअभियान अन्तर्गत सङ्घ, प्रदेश र ७५३ वटा स्थानीय तहमा एकै साथ वृक्षरोपण हुने छ। त्यसका लागि सम्बन्धित प्रदेश तथा स्थानीय तहस्थित जिल्ला वन कार्यालयका नर्सरीमा निःशुल्क बिरुवा प्रदान गरिने छ। सङ्घ, प्रदेश र स्थानीय तहका सरकारी तथा सार्वजनिक, सामुदायिक तथा निजी खाली जग्गाहरूमा वृक्षरोपण गर्ने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ । भिरालो तथा नदी किनारका खाली जग्गामा पनि वृक्षरोपण हुनेछ।

महाअभियानका क्रममा नेपालको पूर्ण जनसङ्ख्या अनुसार ‘एक व्यक्ति एक बिरुवा पर्नेगरी हरेक वर्ष तीन करोड बिरुवा रोप्ने लक्ष्य राखिएको छ। यो हिसाबले २० वर्षमा ६० करोड बिरुवा रोपिने वन तथा वातावरणमन्त्री शाहीले बताए। ‘यो महाअभियान मन्त्रालयले गर्ने कुनै परियोजना जस्तो होइन’, उनले भने ‘रोपिएका हरेक बिरुवामा नागरिकको स्वामित्व र संरक्षण प्रदान गरिने छ ।’

यसले नेपाल सरकारले लिएको जैविक विविधता संरक्षण, हिमाल संरक्षण र कार्बन उत्सर्जन कम गर्ने नीतिलाई सघाउने बताइएको छ। सरकारले वैश्विक रूपमा जलवायु परिवर्तनको असर कम गर्न सन् २०२५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य लिएको छ। यो लक्ष्य प्राप्त गर्न यस महाअभियानले सघाउने अपेक्षा गरिएको छ।

२० वर्षे महाअभियान ​गत जेठमा भएको सगरमाथा संवादको निष्कर्षका रूपमा आएको २५ बुँदे कार्यगत घोषणा कार्यान्वयनको महत्त्वपूर्ण पाटोका रूपमा रहेको मन्त्री शाहीले बताए।

प्रकाशित मिति: १४ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com