काठमाडौं । इजरायल–इरान द्वन्द्वका सन्दर्भमा अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीप्रति कडा प्रतिक्रिया दिएका छन्। खामेनीले इरानले इजरायलसँगको संघर्षमा विजय हासिल गरेको दाबी गरेपछि ट्रम्पले उक्त अभिव्यक्तिलाई “मुर्खतापूर्ण र झुटा” भनेर खारेज गरेका हुन्।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल मा लेख्दै भनेका छन्, “आयतुल्लाह खामेनी किन यस्तो हास्यास्पद दाबी गर्छन् ? उनी आफैंलाई थाहा छ कि उनको भनाइ झुटो हो, यस्तो झुट बोल्नु हुँदैनथ्यो।”
रास्ट्रपति ट्रम्पले इरानको अवस्था अहिले अत्यन्तै कमजोर रहेको जिकिर गर्दै तीनवटा प्रमुख आणविक केन्द्र ध्वस्त भइसकेको बताएका छन्। साथै, उनले खामेनीलाई अमेरिकी वा इजरायली सेनाबाट मारिन नदिएको दाबी पनि गरेका छन्।
“मलाई थाहा थियो उनी कहाँ लुकेका छन्। मैले अमेरिकी वा इजरायली सेनालाई उनीमाथि कारबाही गर्न दिएनँ। मैले उनलाई एक अत्यन्त अपमानजनक मृत्युबाट बचाएँ,” ट्रम्पले लेखेका छन्, “उनी मप्रति आभार प्रकट गर्दैनन्, तर कम्तिमा ‘धन्यवाद, राष्ट्रपति ट्रम्प’ भन्नु त पर्थ्यो!”
ट्रम्पको भनाइ यस्तो समय आएको हो, जब उनी इरानमाथि लगाइएका कडाभन्दा कडा प्रतिबन्ध फुकुवा गर्ने विषयमा पुनर्विचार गरिरहेका थिए। तर, खामेनीको पछिल्लो अभिव्यक्तिले त्यसमा असर पारेको बुझिएको छ।
यसैबीच, इरानका उपविदेशमन्त्री सैयद अब्बास अरागचीले ट्रम्पको टिप्पणीको जवाफ दिँदै सामाजिक सञ्जाल एक्स मा लेखेका छन्, “यदि अमेरिकाले साँच्चै इरानसँग संवाद वा सम्झौता चाहेको हो भने, राष्ट्रपति ट्रम्पले इरानका सर्वोच्च नेताप्रति दिएको अपमानजनक अभिव्यक्ति तुरुन्तै बन्द गर्नुपर्छ।”
अरागचीले थपे, “हाम्रो राष्ट्र स्पष्ट मूल्य मान्यता र स्वतन्त्रताप्रतिको गहिरो सम्मानमा अडिएको छ। हामीलाई अरूले हाम्रो भाग्य निर्धारण गर्ने कुरा कहिल्यै स्वीकार्य छैन।”
यसअघि, इरानी सर्वोच्च नेता खामेनीले सार्वजनिक भाषणमा इरानका आणविक संरचनामाथि भएका अमेरिकी आक्रमणहरू असफल भएको दाबी गर्दै इरानको रक्षा प्रणाली सक्षम रहेको बताएका थिए।
प्रकाशित मिति: १४ असार २०८२, शनिबार













प्रतिक्रिया