काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोधसहितको व्यवहार गरेको भन्दै त्यसको विरोधमा देशभर हस्ताक्षर संकलन अभियान जारी राखेको छ।
यसैक्रममा कञ्चनपुरमा सञ्चालन गरिएको हस्ताक्षर अभियानमा राउटे समुदायका सदस्यहरूले समेत सहभागिता जनाएका छन्। रास्वपाका अनुसार भीमदत्त नगरपालिका अन्तर्गत भानुचोक, चेटघाट चौतारी र गड्डाचौकमा हस्ताक्षर संकलनका लागि डेस्क स्थापना गरिएको छ।
रास्वपा सुदूरपश्चिम प्रदेश इञ्चार्ज ज्ञानेन्द्र महतका अनुसार राउटे समुदायका मुखियासहितका सदस्यहरूले ल्याप्चे लगाउँदै रवि लामिछानेप्रति ऐक्यबद्धता जनाएका छन्। उनले राउटेहरूको सहभागिता झल्किने तस्बिरसमेत सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।
सरकारी दबाव र राजनीतिक प्रतिशोधको आरोपका बीच रास्वपाले देशभर व्यापक समर्थन प्राप्त भइरहेको बताउँदै हस्ताक्षर अभियानलाई थप तीव्र बनाएको छ।
प्रकाशित मिति: १४ असार २०८२, शनिबार













प्रतिक्रिया