काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि गम्भीर आरोप लगाएका छन्।
संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले लामिछानेले जेलमा रहँदा पनि ठगी गरेको भन्दै आलोचना गरे। खतिवडाले भने, “ठगी गर्नेहरूले जेलभित्र पुगे पनि आफ्नो प्रवृत्ति छाड्दैनन्। जेलमा बस्दा पनि ‘मलाई सहयोग गर्नुहोस्’ भन्दै चन्दा उठाउने प्रवृत्ति देखिएको छ। यो अत्यन्तै खतरनाक प्रवृत्ति हो।”
रास्वपाले लामिछानेको पक्षमा सञ्चालन गरिरहेको हस्ताक्षर अभियानप्रति संकेत गर्दै उनले थपे, “बदमासी गर्नेहरूले जुनसुकै अवस्थामा पनि आफ्नो बाटो बदल्दैनन्। यस्तो प्रवृत्तिको विरोध गर्नुपर्छ।”
त्यसैगरी, उनले सुमिरे टुर एण्ड ट्राभल्सले भिजिट भिसाको नाममा विगत १० वर्षदेखि जापानमा हजारौं नेपालीबाट अर्बौं रुपैयाँ ठगेको आरोपसमेत लगाए। ती कम्पनीसँग सम्बन्धित व्यक्ति अहिले सांसद बनेर संसदमा रहेको उल्लेख गर्दै उनले यस्ता प्रकरणको निष्पक्ष छानबिनको माग गरे।
“जनताको भरोसा लिएर ठगी गर्नेहरू नै आज सांसद बनेर संसदमा छन्, यो लोकतन्त्रका लागि घातक संकेत हो,” उनले चेतावनी दिए।
प्रकाशित मिति: १४ असार २०८२, शनिबार













प्रतिक्रिया