काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्भावित राजनीतिक पुनरागमन घोषणा हुने भनिएको कार्यक्रम राष्ट्रिय सभागृहमा जारी रहेको छ।
मदन भण्डारीको ७४औँ जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा सत्तारूढ नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रममा प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी दुवै वक्ता रहेका छन्। तर, प्रधानमन्त्री ओलीले आफ्नो निर्धारित भाषण सकेपछि विद्याभण्डारीको सम्बोधन नसुती कार्यक्रमबाट हिँडेका छन्।
स्पेन प्रस्थान गर्नुपर्ने कार्यतालिका देखाउँदै उनले पूर्वराष्ट्रपतिप्रति सादर सम्बोधन गर्दै यस्तो बताएका हुन्।
ओलीले भने,
“म अहिले पाँच बजे विमानस्थल पुग्नुपर्ने छ। पूर्वराष्ट्रपति ज्युले मेरा कुरा पनि सुन्नुस् भन्नु भएको थियो। उहाँ राम्रो बोल्नुहुन्छ भन्ने मलाई पहिल्यैदेखि थाहा छ। सुन्दै आएको छु।”
उनले थपे,
“आजमात्रै होइन, उहाँका कुरा त धेरै पहिलेदेखि सुन्दै आएको हुँ। त्यसैले आज सुन्न नपाए पनि केही छुट्दैन।”
प्रधानमन्त्री ओलीले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलप्रति पनि उस्तै शैलीमा टिप्पणी गरे।
“ईश्वर कमरेड त सधैँ राम्रो बोल्नुहुन्छ, त्यसैले के भन्नुहुन्छ मलाई थाहा छ। त्यसैले सुन्न नपाएकोमा कुनै गुनासो छैन,” उनले भने।
तर, हालको एमाले राजनीतिमा वरिष्ठ उपाध्यक्ष पोखरेल ओलीविरुद्ध धारणा बनाउँदै आएका नेताका रूपमा चिनिँदै आएका छन्।
कार्यक्रममा ओलीको यस्तो टिप्पणीले पार्टीभित्रको दूरी र दबिएको द्वन्द्व पुनः सतहमा आएको संकेत पनि दिएको छ।
प्रकाशित मिति: १४ असार २०८२, शनिबार













प्रतिक्रिया