काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) को पार्टी सदस्यता नवीकरण गरेकी छन्। शनिबार काठमाडौँमा आयोजित मदन भण्डारीको ७४औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै भण्डारीले फरक ढंगको जिम्मेवारीबाट मुक्त भएपछि एमालेमै रहेर पुनः राजनीतिक यात्रा सुरु गरेको घोषणा गरिन्।
भण्डारीले सामाजिक न्याय र समानतामा आधारित समाजवादको लक्ष्य अझै पूरा नभएको बताउँदै उक्त उद्देश्यका लागि पार्टीभित्र रहेर काम गर्ने बताइन्। उनले आफू कुनै विशिष्ट पदको आकांक्षाविहीन रहेको र देश तथा जनताको हितलाई प्रमुख ध्येय बनाएको स्पष्ट पारिन्।
“मैले नेकपा एमालेको सदस्यता नवीकरण गरेकी छु। अब म एमाले परिवारको सदस्यको रूपमा पुनः जोडिएको छु,” उनले भनिन्, “देशका विभिन्न भागमा पुगेर जनतासँगको अन्तर्क्रिया र विज्ञहरूसँगको छलफलबाट सामाजिक न्याय र समानतामा आधारित समाजवाद अझै अधुरो रहेको निष्कर्षमा पुगेकी छु। त्यसैले यो लक्ष्य हासिल गर्न म पुनः सक्रिय भएकी हुँ।”
पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशलाई एमाले नेताहरूले स्वागत गरेका छन्। पार्टीले उनलाई कुनै पदमा ल्याउने वा भुमिका दिने विषयमा भने तत्काल कुनै जानकारी दिएको छैन।
प्रकाशित मिति: १४ असार २०८२, शनिबार













प्रतिक्रिया