काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले पार्टीमा एकता कायम रहेको स्पष्ट पार्दै फुटको चर्चा निराधार भएको बताएकी छन्।
शनिबार पार्टी सभापति रवि लामिछानेको समर्थनमा जारी हस्ताक्षर अभियान अन्तर्गत बनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयमा सहभागी भएकी सांसद गौतमले सञ्चारकर्मीहरूसँगको कुराकानीमा पार्टी विभाजनको सम्भावना नरहेको दाबी गरिन्।
पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालले अदालतमा दायर गरेको रिट तथा निर्वाचन आयोगबाट प्राप्त पत्रका आधारमा पार्टी फुट्न लागेको हो भन्ने प्रश्नमा उनले भनिन्, “त्यो कानुनी प्रक्रिया हो, जुन केवल रास्वपामा मात्र होइन, अन्य पार्टीहरूमा पनि देखिने सामान्य प्रक्रिया हो।”
उनले रास्वपाले पार्टीको हैसियतमा आफ्नो दाबी राखिरहेको जनाउँदै पार्टी एकढिक्का रहेको र कुनै प्रकारको फुटको अवस्थामा नरहेको दोहोऱ्याइन्।
त्यसैगरी, सांसद गौतमले सबै राजनीतिक दलका आफ्ना–आफ्नै एजेन्डा हुने उल्लेख गर्दै रास्वपा विशेषगरी युवालाई अग्रस्थानमा ल्याउने अभियानमा अगाडि बढिरहेको बताइन्।
“हिजोआज युवालाई स्थान देउ भनेर पटक–पटक आवाज उठ्दा पनि परम्परागत दलहरूले खासै अवसर दिएका थिएनन्,” उनले भनिन्, “रास्वपाले अरूसँग मागिरहनुको सट्टा युवाहरूका लागि आफ्नै ठाउँ बनाउने लक्ष्यसहित पार्टी स्थापना गरेको हो।”
उनले अहिले रास्वपाले जनअपेक्षा अनुसारको काम गर्न थालेसँगै स्थापित दलहरूलाई असहज भएको र सम्भावित चुनौतीको रूपमा लिएको हुन सक्ने तर्क पनि गरिन्।
“भोलिको दिनमा रास्वपाले के गर्न सक्छ भनेर जनताले आकलन गर्न थालेका छन्,” सांसद गौतमले भनिन्, “हामी आफ्नो सपना विस्तार गरिरहेका छौं, र त्यसैले परम्परागत दलहरूलाई हामीबाट खतरा महसुस हुन थालेको हुन सक्छ।”
प्रकाशित मिति: १४ असार २०८२, शनिबार













प्रतिक्रिया