काठमाडौं । प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलमाथि नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले आपत्ति जनाउँदै न्यायाधीश बन्न उपयुक्त नहुने सुझाव दिएका छन्।

संसदीय सुनुवाइ समितिको बैठकमा पोखरेलका योजना सुनेपछि सांसद बर्तौलाले विगतमा उनी राजनीतिक रूपमा सक्रिय रहेको र केही ठूला व्यवसायिक घरानासँग नजिकिएको भन्दै आलोचना गरे। उनले पोखरेलले निष्पक्ष न्याय प्रदान गर्न नसक्ने भन्दै प्रक्रियाबाट पछि हट्न सुझाव दिए।

advertisement

“म व्यक्तिगत रूपमा तपाईंलाई सुझाव दिन्छु — यो न्यायिक नियुक्तिको प्रक्रियाबाट पछि हट्नु तपाईंको लागि उपयुक्त हुन्छ,” बर्तौलाले भने, “तपाईं योभन्दा अगाडि नजाने गरी बाहिरिनुहोस् भन्ने मेरो निजी धारणा हो।”

बर्तौलाका अनुसार पोखरेल अघिल्लो समय एक बैंकको सञ्चालक रहिसकेको पाइएको छ र ती बैंक व्यवसायिक घरानासँग जोडिएको छ। “तपाईंको राजनीतिक पृष्ठभूमि त छँदैछ, तर तपाईंको अभिवृत्तिमा व्यवसायिक प्रभाव बढी देखिन्छ भन्ने धारणा पनि छ,” उनले भने, “न्यायिक क्षेत्र, कानुनी वृत्त, र व्यवसायिक समुदायमा तपाईंप्रति यस्तो सोच बनिसकेको छ।”

बर्तौलाले पोखरेलमाथि व्यवसायिक समूहहरूका लागि काम गर्ने गरेको आरोप पनि लगाए। “तपाईं वकिलको रूपमा भन्दा व्यवसायिक घरानाका प्रतिनिधिको रूपमा बढी सक्रिय देखिनुहुन्छ भन्ने जनविश्वास छ,” उनले प्रश्न गरे, “यदि त्यो गलत हो भने तपाईंले त्यसलाई कसरी खण्डन गर्नुहुन्छ?”

सुनुवाइका क्रममा बर्तौलाले अघिल्लो समय पोखरेलले तत्कालीन कार्यवाहक प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथि प्रश्न उठाएको, तथा व्यवसायिक हितको पक्षमा बोल्ने गरेको कुराको पनि स्मरण गरे।

“७ महिना अघि आफूले लिएको अठोट एकाएक तोडेर न्यायाधीश बन्ने निर्णय गर्नु आजको दिनमा प्रश्न उठाउने विषय हो,” बर्तौलाले भने, “यदि तपाईं जस्तो वरिष्ठ वकिलले यस्तो निर्णय गर्नुभयो भने, भोलि अन्य वकिलहरूले पनि पद पाएपछि जे पनि गर्न मिल्छ भन्ने सोचको मान्यता बन्नेछ।”

पोखरेलले समितिमा प्रस्तुत योजना अनुसार, यदि आफू न्यायाधीशमा अनुमोदित भए राजनीतिक पहिचान परित्याग गर्ने बताएका थिए। तर बर्तौलाले त्यसले न्यायिक क्षेत्रको विश्वसनीयता गुम्न सक्ने भन्दै गम्भीर चासो व्यक्त गरे।

प्रकाशित मिति: १५ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com