काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलाल पुँजीपतिहरूले नेपाली कांग्रेस र नेकपा (एमाले)लाई आर्थिक प्रलोभनमा पारेर आफ्नाे नेतृत्वको सरकार अपदस्थ गराएको आरोप लगाएका छन् ।
शनिबार भक्तपुरमा आयोजित नेपाल उद्योग व्यापार महासंघको सचिवालय बैठक तथा अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रममा सम्बोधित गर्दै दाहालले प्रधानमन्त्री भएका बेला “राष्ट्रिय पुँजी प्रवर्द्धन र दलाल पुँजी नियन्त्रण” गर्ने नीति लिएकै कारण सत्ता परिवर्तन भएको दाबी गरे ।
“हाम्रो नीतिको मूल मर्म दलाल पुँजीतालाई नियन्त्रण गर्दै राष्ट्रिय पुँजीलाई प्रवर्द्धन गर्ने थियो,” दाहालले भने, “तर यो कुरा राष्ट्रिय पुँजीपतिले भन्दा दलाल पुँजीपतिले पहिले बुझे । उनीहरूले माओवादी सत्तामा रहँदा आफ्नो स्वार्थमा आँच आउँछ भनेर कांग्रेस र एमालेलाई खरिद गरी नयाँ सत्ता समीकरण बनाए ।”
दाहालका अनुसार उनी नेतृत्वको सरकारले देशको आर्थिक रूपान्तरणका लागि कैयौँ महत्त्वपूर्ण कदम चालेका थिए । हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग र उत्तर–दक्षिण करिडोर जस्ता ठूला पूर्वाधार परियोजनाबाट जनताको जीवनस्तरमा ‘क्रान्तिकारी सुधार’ आएको उनले उल्लेख गरे ।
उनले सरकारको कार्यकालमा आठवटा उत्तरी नाका खोल्ने निर्णयले एकतर्फी व्यापार निर्भरता घटाउन सहयोग पुगेको, विद्युत् लोडसेडिङ अन्त्य, किसानको ऋण मिनाहा जस्ता जनपक्षीय काम भएको सुनाए । “आगामी दिनमा पनि यस्ता नीतिहरूलाई निरन्तरता दिनेछौँ,” प्रचण्डले प्रतिबद्धता जनाए ।
प्रकाशित मिति: १५ असार २०८२, आइतबार












प्रतिक्रिया