काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले धान उत्पादनमा आत्मनिर्भर बन्न सरकारले नीति, योजना र कार्यक्रममार्फत किसानको हितमा काम गरिरहेको स्पष्ट पारेका छन्।

“धान बालीमा सघनता: खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने नारासहित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र (नार्क), कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र तथा राष्ट्रिय किसान आयोगको संयुक्त आयोजनामा खुमलटारमा आज आयोजित २२औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा बोल्दै मन्त्री अधिकारीले स्रोत र साधन सीमित भए पनि किसानका समस्यालाई प्राथमिकतामा राखेर समाधान गर्ने सरकारको प्रतिबद्धता व्यक्त गरे।

advertisement

“असारमा हिलोमा टेक्ने संस्कार नै हाम्रो उत्पादन संस्कार हो। हामी दुई वर्षभित्र धानमा आत्मनिर्भर बन्न सक्छौं,” मन्त्री अधिकारीले भने, “किसानको समस्या समाधान गर्न मल व्यवस्थापन लगायत आवश्यक तयारी गरिएको छ।”

उनले आगामी वर्षको धान दिवससम्म उत्पादन वृद्धि हुने विश्वाससमेत व्यक्त गरे।

संसद्को समितिको ध्यान
संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत विकास समितिकी सभापति कुसुम थापाले किसान सशक्तिकरण तथा खाद्य आत्मनिर्भरता सुनिश्चित गर्न संसदमा आवश्यक नीतिगत छलफलहरू अघि बढाइने जानकारी दिइन्।

भूउपयोग नीति र खेतीयोग्य जमिनको संरक्षण
कृषि मन्त्रालयका सचिव दीपककुमार खरालले उत्पादनयोग्य जमिन आवासीय क्षेत्रमा रूपान्तरण हुँदै गएको अवस्थामा भूउपयोग नीतिलाई प्रभावकारी कार्यान्वयन गर्दै कृषि उत्पादन बढाउनु पर्नेमा जोड दिए। उनले किसानको योगदानलाई उच्च सम्मान गर्दै धान उत्पादनमा आयात प्रतिस्थापन गर्नुपर्ने आवश्यकतामा बल दिए।

अनुसन्धान र विविध जातको प्रवर्धन
नार्कका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद तिम्सिनाले जलवायु परिवर्तनको प्रभावलाई सम्बोधन गर्दै विभिन्न जातका धानको अनुसन्धान तथा प्रवर्धनमार्फत सन् २०३० सम्म नेपाललाई धानमा आत्मनिर्भर बनाउने रणनीति अघि सारिएको जानकारी दिए।

किसानको आवाज र सुझाव
राष्ट्रिय उत्कृष्ट किसान पुरस्कारबाट सम्मानित दयाराम मरामचीले किसानमैत्री नीतिगत सुधार, व्यवहारिक कार्यक्रम र खाद्य आत्मनिर्भरता केन्द्रित योजना ल्याउन आग्रह गरे।

मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठले प्रस्तुत गरेको कार्यपत्रमा नेपालमा धानको आत्मनिर्भरता पछिल्ला वर्षमा घट्दै गएको तथ्याङ्क प्रस्तुत गर्दै एशिया नै विश्वका प्रमुख धान उत्पादक राष्ट्रहरूको क्षेत्र रहेको उल्लेख गरे।

असार १५ र धान खेतीको महत्व
बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटाले असार १५ लाई कृषिप्रधान परम्परा र किसानको सम्मानको दिनको रूपमा व्याख्या गरे। उनले सन् २०६१ देखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउँदै आएको जानकारी दिए।

धान नेपालमा प्रमुख खाद्यान्न बाली हो। खाद्य सुरक्षा, पोषण, अर्थतन्त्र, संस्कृति र धर्मसँग समेत यसको गहिरो सम्बन्ध छ। आधुनिक प्रविधि र जात सुधारको कारण धान बालीको क्षेत्रफलमा उल्लेखनीय गिरावट नभएको प्रस्ट पारिएको छ।

नेपालमा कुल धान उत्पादन क्षेत्रफलको करिब सात प्रतिशतमा मात्र चैते धानको खेती हुँदै आएको भए पनि सिँचाइ सम्भव भएका क्षेत्रमा यसको विस्तार गरी उत्पादनमा वृद्धि गर्न सकिने ठोस सम्भावना रहेको विज्ञहरूले औंल्याएका छन्।

प्रकाशित मिति: १५ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com