काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले दुबईमा ७५ हजारभन्दा बढी नेपाली श्रमिकहरू बन्धक अवस्थामा रहेको गम्भीर दाबी गरेका छन्।
आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै शाहीले दुबई, कतार र साउदी अरेबियाजस्ता खाडी मुलुकहरूमा भिजिट भिसाका नाममा नेपाली नागरिकहरू संकटमा परेको उल्लेख गरे। तर, उनले प्रस्तुत गरेको आँकडाको कुनै प्रमाण वा स्रोत भने खुलाएका छैनन्।
“भिजिट भिसाको नाममा देशका हजारौं नागरिकहरू बन्धक बनेका छन्,” सांसद शाहीले भने, “अब तिनीहरूको चीत्कार सुन्नुपर्ने समय आएको छ। जरोदेखि टुप्पोसम्म छानबिन गरी दोषीलाई कारबाही हुनुपर्छ, चाहे कोही मन्त्री हुन् वा प्रधानमन्त्री नै किन नहोस्।”
उनले भिजिट भिसा प्रकरण कुनै नयाँ विषय नभएको भन्दै लामो समयदेखि भइरहेका अनियमितता र मानव तस्करीका घटनाहरूको गम्भीर छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गरे।
“राजनीतिक स्वार्थ र दलगत दाउपेचभन्दा माथि उठेर दोषी पहिचान गर्नुपर्छ,” उनले जोड दिए।
सांसद शाहीले सत्तापक्षमाथि संसदमा बहुमतको भरमा अहंकार देखाएको आरोप पनि लगाए। “संख्याको दम्भ देखाएर जनताको आवाज दबाउने काम सरकारले गरिरहेको छ,” उनले भने।
भिजिट भिसा प्रकरणले संसद र जनमानसमा गम्भीर चासो सिर्जना गरिरहेका बेला सांसद शाहीको यस्तो अभिव्यक्ति आएको हो।
प्रकाशित मिति: १५ असार २०८२, आइतबार













प्रतिक्रिया