काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट आइतबार बिहान भागेका थुनुवा साँझ गोंगबु बसपार्क क्षेत्रबाट पक्राउ परेका छन्। चोरी अभियोगमा पक्राउ परेका रुकुम पश्चिम घर भएका २१ वर्षीय दशरथ शाही उर्फ निराजन ठकुरीलाई प्रहरीले साँझ ५ बजे गोंगबुस्थित एक व्यापारिक कम्प्लेक्सबाट नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराका अनुसार शाही हतकडीसहित पक्राउ परिसकेका छन्। “हामीले उनलाई हतकडीकै अवस्थामा पक्राउ गरेका हौं,” एसपी बोहराले बताए।

advertisement

शाहीलाई प्रहरी वृत्त सोह्रखुट्टेले जेठ २० गते चोरी अभियोगमा पक्राउ गरेको थियो। आवश्यक अनुसन्धान सकेपछि उनलाई थुनछेक बहसका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको थियो। अदालतको पहिलो तलामा रहेको इजलास नं. ४ मा बहस चलिरहँदा पिसाब लागेको भन्दै उनलाई शौचालय लिइएको थियो।

“शौचालय लाँदा सुरक्षा नियमअनुसार भित्र दुवै हातमा हतकडी लगाउन पाइँदैन,” एसपी बोहरा भन्छन्, “एक हातमा मात्रै हतकडी लगाएर लगेका बेला उनले मौका छोपी झ्यालबाट हामफालेर भागेका हुन्।”

भागेपछि उनले लगाइरहेको ज्याकेट फुकालेर हतकडी लुकाएका थिए। त्यसपछि गोंगबु बसपार्क पुग्न उनले राइड सेयरिङ सेवा प्रयोग गरेको प्रहरी बताउँछ।

हाल उनी बसपार्कबाट कहाँ जान खोजिरहेका थिए भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: १५ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com