काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पुनःसक्रियतामा संविधानले कुनै रोकटोक नगरेको स्पष्ट पारेका छन्।
आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पाण्डेले उच्चतम पद सम्हालेको व्यक्तिको व्यक्तिगत चाहनालाई अस्वीकार गर्न नमिल्ने बताए। “देशको सबैभन्दा सम्मानित पदमा पुगिसकेकी व्यक्तिले फेरि राजनीति गर्ने निर्णय लिँदा संविधानले रोकेको देखिन्न,” उनले भने।
पूर्वराष्ट्रपति भण्डारी एमालेको कार्यक्रममा उपस्थित भएर राजनीतिक अभिव्यक्ति दिएपछि उनी फेरि सक्रिय राजनीतिमा फर्किएको चर्चा चुलिएको छ। सोही सन्दर्भमा प्रतिक्रिया दिँदै पाण्डेले भनाइ थपे, “उहाँको निर्णयलाई व्यक्तिगत रुचिको रूपमा लिनुपर्छ, संविधानले ‘राजनीति गर्न पाइँदैन’ भनेर प्रतिबन्ध लगाएको छैन।”
उनले भण्डारी एमालेमा सक्रिय भएपछि वाम एकता तुरुन्तै हुन्छ भन्ने नदेखिएको पनि उल्लेख गरे। “वामपन्थीबीच एकता हुनुपर्छ भन्ने सैद्धान्तिक धारणा हामी सबैको साझा हो,” पाण्डेले भने, “तर एउटा कार्यक्रममा दिइएको अभिव्यक्तिले तत्काल वाम गठबन्धन बन्छ भनेर निष्कर्ष निकाल्न मिल्दैन।”
प्रमुख सचेतक पाण्डेले कम्युनिस्ट शक्तिहरूबीच एकता आवश्यक भएको धारणा राखे पनि त्यसका लागि गहिरो छलफल र साझा कार्यदिशा आवश्यक रहेको बताए।
प्रकाशित मिति: १५ असार २०८२, आइतबार












प्रतिक्रिया