काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डीपी अर्यालबीच तीव्र वाक्युद्ध भएको छ।
शनिबारको बैठकमा सुमिरे टुर्स एन्ड ट्राभल्समार्फत भिजिट भिसाको नाममा ठगी भएको भन्दै सांसद खतिवडाले उठाएको विषयलाई लिएर सांसद अर्यालले कडा आपत्ति जनाए।
सुरुमा मन्तव्य राख्दै सांसद अर्यालले खतिवडाको आरोपप्रति आक्रोश व्यक्त गरे। उनले भने, “मलाई दया लाग्छ, २०४८/४९ सालतिर मन्त्रीका पीए भएर कागजात किर्ते गरी मानिसहरूलाई विदेश पठाएको आरोपमा हनुमानढोकाको चिसो छिँडीमा रात बिताएका मान्छेहरू आज संसदमा छन्। यस्ता मानिसहरूले आज अर्कामाथि आरोप लगाउँछन्।”
अर्यालले आफू सुमिरे टुर्स एन्ड ट्राभल्स कम्पनीका सञ्चालक भएको स्वीकार गर्दै कम्पनीमार्फत कसैलाई गैरकानुनी रूपमा विदेश नपठाइएको दाबी गरे। “हामी चोरेर खाने होइन, केही गरेर खाने मान्छे हौं,” उनले भने, “यदि मेरो कम्पनीमार्फत भिजिट भिसामा गएका मानिस फर्केका छैनन् भने प्रमाणसहित प्रस्तुत होऊ। होइन भने संसदको रेकर्डबाट त्यो आरोप हटाइयोस्।”
उनले सभामुखसमक्ष संसद्को मर्यादा र निष्पक्षताको पक्षमा निर्णय दिन माग गरे। अर्यालको वक्तव्यका क्रममा कांग्रेस सांसद खतिवडा बीचमै उठे पनि सभामुख देवराज घिमिरेले अर्यालको समय सकिएपछि मात्र बोल्न अनुमति दिए।
पछि बोल्दै सांसद खतिवडाले आफूले कुनै व्यक्तिको नाम लिएर आरोप नलगाएको स्पष्ट पारे। उनले भने, “हामीले त केवल निष्पक्ष छानबिनको माग गरेका थियौं। तर, चोरको खुट्टा काट भन्दा खुट्टा झिकेझैं केही माननीयहरू प्रस्तुत हुनुभयो। संसद्को मर्यादा पालना गर्दै हामीले आवाज उठाएका हौं।”
खतिवडाले दोषीलाई कारबाही र निर्दोषलाई सम्मान मिल्नुपर्नेमा जोड दिँदै निष्पक्ष छानबिन हुनुपर्ने अडान दोहोर्याए। “कुनै बेला हामी अदालतबाट निर्दोष ठहर भइ संसद् पुगेका थियौं। तर आज दोषीहरू नै ठूलो स्वरमा कराउँदैछन्, यो आपत्तिजनक हो,” उनले भने।
संसद्मा उठेको यो बहसले भिजिट भिसा प्रकरण र सम्बन्धित कम्पनीहरूको भूमिकामाथि गम्भीर छानबिनको माग फेरि तीव्र बनाएको छ।
प्रकाशित मिति: १५ असार २०८२, आइतबार












प्रतिक्रिया