काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले हालको परिस्थितिमा न्यायालयप्रति आम जनताको विश्वास डगमगाउन थालेको गम्भीर टिप्पणी गरेका छन्।
सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै बर्तौलाले न्यायालयप्रति जनताले राखेको भरोसा क्रमशः टुट्न थालेको उल्लेख गरे। “न्यायालयप्रति जनताको विश्वास कमजोर हुँदै गएको मात्र होइन, अब त त्यो भरोसा पूरै गुम्नै लागेको अवस्था देखिन्छ,” उनले भने।
उनले यो स्थिति सिर्जना हुनुमा थुप्रै कारण भए पनि न्यायाधीशहरूको भूमिकामै गम्भीर प्रश्न उठिरहेको स्पष्ट पारे। “न्यायाधीशहरूको आचरण, निर्णय प्रक्रियामा देखिएको विचलन, निष्पक्षतामा देखिएको कमजोरी—यी सबै कारणले गर्दा न्यायपालिकामाथि जनताको आशा निरन्तर क्षीण भइरहेको छ,” बर्तौलाले भने।
प्रमुख सचेतक बर्तौलाले प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीश शान्तिसिंह थापासँग प्रश्न गर्दै भने, “भोलिका दिनमा यस्ता टिप्पणीहरू पुनः नआउन् भनेर तपाईंको योजना के छ? पीडितले समयमै न्याय पाउने सुनिश्चितता कसरी गर्न सकिन्छ?”
उनले थपे, “कसैकसैले न्याय सम्पादन गर्दा उपलब्ध प्रमाण र तथ्यलाई हेर्नु भन्दापनि भीडको दबाब र व्यक्तिगत सुरक्षालाई प्राथमिकता दिने गरेका छन्, जुन न्यायिक मर्यादाविपरीत हो।”
बर्तौलाले न्यायपालिकाको विश्वसनीयता पुनःस्थापना गर्न न्यायाधीशहरूको आचरण, नैतिकता र न्याय सम्पादनको प्रक्रियामा सुधार अनिवार्य भएकोमा जोड दिए।
प्रकाशित मिति: १६ असार २०८२, सोमबार













प्रतिक्रिया