भक्तपुर ।  भर्खरै सार्वजनिक भएको माध्यामिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजाले भक्तपुरकी गोमा श्रेष्ठको जीवनमा खुशीको तरङ्ग ल्याएको छ। चाँगुनारायण नगरपालिका–८ सुडालस्थित एक इँटाभट्टाको जस्ताको टहरामा बस्दै आएकी गोमा आफ्ना बाबुआमासँगै किसानको रोपाइँमा सहभागी भएर घर फर्किएकी थिइन्, जब उनलाई एसईई नतिजा सार्वजनिक भएको खबर आयो।

चाँगुनारायण–८ मा रहेको महेन्द्रग्राम माध्यमिक विद्यालयबाट एसईई दिएकी गोमा श्रेष्ठले अनलाइनमार्फत नतिजा हेर्दा आफ्नो नामसामु ४.०० जिपिए देख्दा उनी एकछिन चुप भइन्—त्यसपछि खुसीको आँसु रोक्न सकिनन्। सामुदायिक विद्यालयबाट पढेर पनि सर्वोच्च अंक ल्याएकी गोमा भक्तपुर जिल्लाका ३० उत्कृष्ट विद्यार्थीमध्ये एक बनिन् भने चाँगुनारायण नगरपालिकामै सर्वोत्कृष्ट छात्रा ठहरिइन्।

advertisement

गोमाको स्थायी घर रामेछापको खनियाँपानी हो। जब उनी चार वर्षकी थिइन्, तब उनका बाबु मीनबहादुर श्रेष्ठ परिवारको आर्थिक अवस्था कमजोर भए पनि छोरीको पढाइप्रतिको लगाव देखेर भक्तपुर झरे। उनले भक्तपुरमा इँटाभट्टामा काम गर्न थाले र छोरीलाई नजिकैको विद्यालयमा भर्ना गराए।

“सानैदेखि पढाइमा रुचि राख्ने छोरीको भविष्यका लागि हामी थातथलो छोडेर आएँ,” मीनबहादुरले सम्झिए। “खनियाँपानीको विकट गाउँबाट स्कुल जान घण्टौं हिँड्नुपर्थ्यो। त्यसैले इँटाभट्टामा ज्याला मजदुरी गर्दै भए पनि छोरीलाई पढाउने सपना लिएर भक्तपुर आएका हौं।”

गोमाको बाल्यकाल इँटाभट्टाकै खलामा बित्यो। बिहान बेलुका इँटा ओल्टाउने, सुकाउने, कहिले भारी बोेेकेर बाबुआमालाई सघाउने उनको दैनिकी थियो। कक्षा ९ सम्म त्यो जीवनशैली यथावत् चल्यो। तर कक्षा १० पुगेपछि उनले आफ्नो समय तालिका परिवर्तन गरिन्।

“बुबाआमा र शिक्षकहरू सबैले अबको एक वर्ष पढाइमा ध्यान दिनू भनेर भन्नुभयो,” गोमाले भनिन्, “मैले दैनिकीलाई केही परिमार्जन गरेर पढाइलाई प्राथमिकता दिएँ, त्यसकै परिणाम हो यो सफलता।”

एसईईमा उत्कृष्ट नतिजा ल्याएकी गोमाको लक्ष्य अब *एमबीबीएस* पढेर एक असल डाक्टर बन्ने छ। उनले भनिन्, “म विज्ञान संकायबाट प्लस टु पास गरेर मेडिकल छात्रवृत्तिमा एमबीबीएस पढ्न चाहन्छु। त्यो मेरो सपना मात्र होइन, जिम्मेवारी पनि हो—मेरा बाबुआमा, समाज र देशप्रति।”

गोमा जान्छिन्, त्यो सपना सजिलो छैन। त्यसका लागि चाहिन्छ कठोर मेहनत, दृढ संकल्प र निरन्तरता। तर उनले भनेझैं, “जब जीवनको भुइँबाट शुरू गर्नु पर्‍यो, तब उचाइको महत्व अझ बढी बुझिन्छ। म त्यो उचाइ छुने अठोटका साथ अघि बढिरहेकी छु।”

प्रकाशित मिति: १६ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com