काठमाडौं । सभामुख देवराज घिमिरेले लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउन राजनीतिक दलहरूबीच साझा राष्ट्रिय सरोकारका विषयमा दलीय सहमति अपरिहार्य भएको बताएका छन्। संसद दिवस २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख घिमिरेले संसदलाई वादविवाद होइन, संवादको थलो बनाउनुपर्नेमा जोड दिएका हुन्।

उनले लोकतन्त्रको मूल आधार नै संवाद, सहकार्य र सहमति भएको उल्लेख गर्दै भने, “संसद जनताको प्रतिनिधिमूलक संस्था हो। त्यसैले संसदले लिने नीति, बनाउने कानून र निगरानीका कार्यहरू राष्ट्र र जनहितमा दीर्घकालीन असर पार्ने खालका हुनुपर्छ।”

advertisement

विविध विचार, दृष्टिकोण र प्राथमिकताका राजनीतिक दलहरूबीच मतभेद स्वाभाविक भए पनि साझा राष्ट्रिय हितमा एकताबद्ध हुनु जरुरी रहेको सभामुख घिमिरेले भने ।

उनले संसदलाई नीति निर्माण, कानून निर्माण र कार्यान्वयनको प्रभावकारी निगरानी गर्ने महत्वपूर्ण संस्था भन्दै यसले जनताको इच्छा, अपेक्षा र अधिकारलाई सम्बोधन गर्न भूमिका खेल्नुपर्ने बताए। “संविधानले करलगायतका सबै प्रस्तावहरू संसदमा प्रस्तुत गर्नुपर्ने व्यवस्था गरेको छ, जसले जनताको स्वीकृतिको सम्मान गर्छ,” सभामुखले स्मरण गराए।

सभामुख घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल, सांसद, कर्मचारी, प्रेस, नागरिक समाज र सचेत जनसमुदायलाई संसदलाई जनउत्तरदायी र प्रभावकारी बनाउन भूमिका निर्वाह गर्न आग्रह गरे। “संसदको गरिमा जोगाउन संवाद र सहकार्यमार्फत दलीय सहमति कायम गर्दै जनअपेक्षाअनुसार अघि बढ्न सबैलाई हार्दिक आह्वान गर्दछु,” उनले भने।

नेपालमा पहिलो निर्वाचित प्रतिनिधिसभाको बैठक बसेको स्मरणमा प्रत्येक वर्ष असार १६ गते *संसद दिवस* मनाइन्छ। यो दिन लोकतन्त्र, संविधान, जनअधिकार र जनप्रतिनिधिको जिम्मेवारी स्मरण गर्ने अवसरका रूपमा लिइन्छ।

प्रकाशित मिति: १६ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com