काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले युवाहरूको ऊर्जा, सृजनशीलता र चेतनालाई व्यवहारिक र व्यावसायिक रूपान्तरण गर्न सरकार, निजी क्षेत्र, शैक्षिक संस्था, वित्तीय निकाय र नागरिक समाज सबैको सहकार्य आवश्यक भएको बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित ूयुवा उद्यमशीलता प्रवर्द्धन सम्मेलनूलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले युवाका विचारलाई व्यवसायिक योजनामा बदल्न सहजीकरण, प्रोत्साहन र जोखिम उठाउने वातावरण बनाउनुपर्नेमा जोड दिए।
“युवाको सोचलाई कार्यरूप दिन नेतृत्वदायी भूमिका सबैले लिनुपर्छ,” उपराष्ट्रपतिले भने, “सिर्जनशीलतालाई सफल उद्यममा रूपान्तरण गर्न मार्गदर्शन, पुँजी पहुँच, सीप र ज्ञानको संयोजन अपरिहार्य छ।”
उनले युवालाई व्यवसाय सुरु गर्न आवश्यक स्रोत, सीप, बजार पहुँच र ब्रान्डिङजस्ता पक्षमा मार्गदर्शन तथा सहजीकरणको खाँचो रहेको बताए। साथै, युवाका आवाज नीति निर्माण प्रक्रियामा समावेश गरिनुपर्ने उल्लेख गरे।
सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले देशमा लगानी अनुकूल वातावरण बने पनि पुँजी प्रवाह हुन नसकेको बताए। उनले वस्तुसँगै सेवा क्षेत्रलाई पनि निर्यात योग्य बनाउने सम्भावना रहेको बताउँदै युवाहरूले त्यसमा अग्रसर हुनुपर्ने धारणा राखे।
त्यस्तै, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राज्यको सीमित स्रोतका कारण स्वदेशमा पर्याप्त रोजगारी सिर्जना गर्न चुनौती रहेको बताए।
“लाखौं युवा विदेश जान बाध्य छन्,” मन्त्री चौधरीले भने, “स्वदेशमै अवसर सिर्जना गर्न सीपमूलक शिक्षा आवश्यक छ, र तीनै तहका सरकारले उद्यम गर्न चाहने युवालाई प्राथमिकतामा राख्नुपर्छ।”
सम्मेलनमा विभिन्न क्षेत्रका युवा उद्यमी, नीति निर्माता र सरोकारवाला निकायको सहभागिता रहेको थियो। उद्यमशीलता प्रवर्द्धन तथा युवालाई स्वरोजगारमा प्रोत्साहन गर्ने उद्देश्यसहित सम्मेलन आयोजना गरिएको हो।
प्रकाशित मिति: १६ असार २०८२, सोमबार













प्रतिक्रिया