काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्लाई केवल बहस, भाषण र नाराबाजी गर्ने थलो होइन, जनताको हितमा निर्णय गर्ने र विश्वास जगाउने सक्षम संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्।
संसद् दिवस–२०८२ को अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतन्त्रप्रति जनतामा विकसित हुँदै गएको वितृष्णालाई हटाउँदै संसद्ले जनअपेक्षा अनुरूपको जिम्मेवार र परिणाममुखी भूमिका खेल्नुपर्ने बताएका हुन्।
सभामुख घिमिरेले भने, “संसद् भाषण र नाराबाजी गर्ने ठाउँ मात्र होइन, यो निर्णय लिने, समाधान दिने र परिणाम प्रस्तुत गर्ने संस्था हो। संसद्ले जनआस्थालाई थप मजबुत बनाउने दिशामा काम गर्नुपर्छ।”
उनले गणतन्त्रप्रति जनतामा नकारात्मक धारणा बढाउने चलखेलहरूलाई परास्त गर्न संसद्ले दृढ इच्छाशक्तिका साथ अगाडि बढ्नुपर्ने बताए।
पूर्वसांसदहरूको अनुभव र ज्ञान राष्ट्रका लागि अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै सभामुख घिमिरेले ती क्षमताहरूलाई वर्तमान बहुआयामिक चुनौतीहरूको सामना गर्न प्रयोग गर्न आवश्यक रहेको धारणा राखे। उनले भने, “पूर्वसांसदहरूको अनुभव र सीपलाई सदुपयोग गरेर संसद्ले अझ प्रभावकारी र दूरदर्शी भूमिका निर्वाह गर्न सक्छ।”
संसद्को प्रभावकारिता बढाउन सचिवालयको भूमिका बलियो बनाउनु अत्यावश्यक रहेको बताउँदै घिमिरेले संसदीय प्रणालीमाथि उठिरहेका प्रश्नहरूलाई गम्भीर रूपमा लिनुपर्ने बताए। “यदि संसद् प्रभावकारी बन्न सकेन भने संसदीय प्रणाली नै संकटमा पर्न सक्छ। त्यसैले सबै पक्ष एकजुट भएर प्रणालीको रक्षामा लाग्नुपर्छ,” उनले भने।
उनको धारणा अनुसार अब संसद्को प्राथमिकता भनेकै जनताका पक्षमा ठोस निर्णय लिने र गणतान्त्रिक मूल्य–मान्यतालाई बलियो बनाउँदै जनता र संसद्बीचको सम्बन्ध थप विश्वासिलो बनाउनु हो।
Ask ChatGPT
प्रकाशित मिति: १६ असार २०८२, सोमबार













प्रतिक्रिया