धनगढी । धनगढी क्षेत्रमा आइतबारदेखि जारी अविरल वर्षाका कारण सयौँ घरमा डुबान भएको छ, भने दर्जनौं परिवार विस्थापित भएका छन्। डुबानमा परेका ८ जनालाई प्रहरी र स्थानीय प्रशासनको सहयोगमा आज सकुशल उद्धार गरिएको छ।

धनगढी उपमहानगरपालिका–१३ श्रीलङ्का टोलका एकै परिवारका चार जना र बेली गाउँका चार जना गरी कुल आठ जनाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय, कैलालीका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी शिवराज जोसीले जानकारी दिए।

advertisement

उनका अनुसार बेलीका सीताराम रानाको एकतले कच्ची घरमा पानी पसेपछि उनीसहित चार जनालाई उद्धार गरी नजिकै रहेको आफन्तको घरमा सुरक्षित रूपमा सारिएको हो। यस्तै, श्रीलङ्का टोलमा डुबानमा परेका अर्को एक परिवारका चार सदस्यलाई उद्धार गरी नजिकैको आधारभूत विद्यालयमा अस्थायी बसोबासको व्यवस्था गरिएको छ।

सूचना अधिकारी जोसीका अनुसार, लगातारको भारी वर्षाले धनगढी उपमहानगरका झन्डै २ हजार घरमा पानी पसिसकेको छ। विशेषगरी वडा नम्बर १, ३, ४, ७, ११ र १३ डुबानबाट अत्यधिक प्रभावित भएको उनले बताए।

स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा उद्धार र राहत कार्यलाई तीव्र बनाएको जनाएको छ, साथै सम्भावित जोखिमलाई मध्यनजर गर्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ।

प्रकाशित मिति: १६ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com