काठमाडौं । पूर्व शिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयकलाई भोट बैंकको राजनीति अन्तर्गत अल्झाउने प्रयासको कडा आलोचना गरेकी छन्।
संसदीय शिक्षा समितिको बैठकमा सोमवार छलफलका क्रममा बोल्दै श्रेष्ठले शिक्षामन्त्री रघुजी पन्तले विधेयक पारित प्रक्रिया केही दिनका लागि स्थगित गर्न आग्रह गरेपछि तीव्र असन्तोष व्यक्त गरिन्। उनले भनिन्, “भोट बैंक जोगाउन विद्यार्थी, शिक्षक र देशको शिक्षासँग खेलबाड गर्न मिल्दैन।”
श्रेष्ठले विधेयकलाई अनावश्यक रूपमा लम्ब्याउँदै जाने र निर्णयबाट पछि हट्ने प्रवृत्तिले शिक्षा क्षेत्रलाई थप कमजोर पार्ने चेतावनी दिइन्। “सभापतिज्यू, विभिन्न चरणमा सहमति भइसकेको विषय अब रोक्ने होइन, पास गर्ने बेला हो,” उनले भनिन्, “फुल समितिमा जे संशोधन आवश्यक छ, त्यहाँ गरौँ। सरकारसँग आवश्यक संख्या छ, निर्णय लिन सकिन्छ।”
उनले इन्ट्रेस्ट ग्रुप (स्वार्थ समूह) को प्रभावमा परेर संसद्को भूमिकालाई ओझेलमा पार्न नहुने उल्लेख गर्दै भनिन्, “कानुन सांसदहरूले बनाउँछन्, इन्ट्रेस्ट ग्रुपले होइन।” विधेयक पास गर्नु सांसदहरूको जिम्मेवारी भएको भन्दै उनले प्रक्रिया अघि बढाउन जोड दिइन्।
श्रेष्ठको धारणा अनुसार शिक्षा जस्तो संवेदनशील विषयमा ढिलासुस्ती गर्नु देशको भविष्यसँग खेलबाड गर्नु सरह हो, र त्यसप्रति कुनै सम्झौता हुन नहुने स्पष्ट संकेत उनले दिएकी छन्।
प्रकाशित मिति: १६ असार २०८२, सोमबार












प्रतिक्रिया