काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको टोपी लगाउनु मात्र नेतृत्वका लागि पर्याप्त नभएको भन्दै प्रभावकारी नेतृत्वका लागि सक्रियता अपरिहार्य हुने धारणा राखेका छन्।

सोमबार बुढानीलकण्ठ–५, दुलालगाउँस्थित बुढानीलकण्ठ क्याम्पिङमा आयोजित एक विमर्श कार्यक्रममा बोल्दै पोखरेलले जननेता मदन भण्डारीको विचारलाई नेपाली सन्दर्भमा पुनः स्मरण गर्नुपर्नेमा जोड दिए। कार्यक्रम मदन भण्डारीको ७४औँ जन्मजयन्तीको अवसरमा नेपाल बौद्धिक परिषद्, बुढानीलकण्ठ नगर कमिटीले आयोजना गरेको हो।

advertisement

पोखरेलले जनताको बहुदलीय जनवाद (जबज) नेपालको विशेष सामाजिक, सांस्कृतिक र राजनीतिक संरचनामा आधारित भएर आएको अवधारणा भएको बताए। उनले भने, “मदन भण्डारीले ‘खुट्टाअनुसारको जुत्ता’ भन्ने दृष्टिकोण अगाडि सारेका थिए। जुत्ता सानो भयो भनेर खुट्टा काट्ने होइन, खुट्टाअनुसारको जुत्ता बनाउनु पर्छ भन्ने उहाँको मान्यता थियो।”

उनले विचारले मात्र जीवन परिवर्तन नहुने र परिवर्तनका लागि समाजको वास्तविकता बुझेर अघि बढ्नुपर्ने विचार प्रस्तुत गरे। “सिद्धान्तले मात्र जीवन परिवर्तन हुँदैन, त्यसका लागि यथार्थसँग मेल खाने दृष्टिकोण आवश्यक पर्छ,” उनले भने।

मार्क्सवादको चर्चा गर्दै पोखरेलले समाज रूपान्तरणको मार्ग शान्तिपूर्ण रूपमै तय गर्नुपर्ने बताए। “मार्क्सवादले हिंसामा विश्वास गर्दैन। विचार, चेतना र प्रणालीको परिवर्तनमार्फत समाज परिवर्तन सम्भव छ,” उनको भनाइ थियो।

विमर्श कार्यक्रममा स्वतन्त्र वामपन्थी नेता मल्ल के. सुन्दरले वर्तमान राजनीतिक परिदृश्यमा वामपन्थीको प्रभाव सन्तोषजनक नभएको टिप्पणी गरे। उनले विचार र संगठनात्मक बल सुदृढ गर्न आवश्यक रहेको उल्लेख गरे।

एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले कम्युनिष्ट पार्टी जनताको मतबाट अघि बढ्ने प्रतिज्ञामा आधारित हुनुपर्ने धारणा राखे। “मतदाताको विश्वास जितेर अघि बढ्ने सोचसँगै जनताको बहुदलीय जनवाद ल्याइएको हो,” उनले भने।

कार्यक्रमको अध्यक्षता परिषद्का नगर कमिटी अध्यक्ष शारदा नेपालले गरेकी थिइन्। कार्यक्रममा विभिन्न वामपन्थी नेता, कार्यकर्ता, बौद्धिक वर्ग तथा स्थानीयहरूको उपस्थिति थियो।

प्रकाशित मिति: १७ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com